Logo

पीएम कप क्रिकेट: बागमती प्लेअफमा छनोट हुँदा कर्णाली अझै जितविहीन



काठमाडौं,१२ पुस । कर्णालीलाई १० विकेटले पाखा लगाउँदै बागमती प्रदेश राजधानीमा जारी प्रधानमन्त्री महिला कप टी-२० क्रिकेटको प्ले अफमा पुगेको छ ।

मूलपानी मैदानमा कर्णालीले दिएको ४३ रनको सामान्य लक्ष्य बागमतीले ४ ओभरमा विना कुनै क्षति पूरा गर्यो । बागमतीका लागि ओपनरद्धय यसु पाण्डेले २४ तथा हेलिसा गुरुङले अविजित १३ रन जोडिन् । यो जितसँगै बागमतीले ६ खेलबाट ८ अंकसहित प्लेअफमा स्थान बनाउँदै ६ खेलमा नै पराजित कर्णाली जितविहीन बनेको छ ।

यसअघि टस जितेर सुरुवातमा ब्याटिङ गरेको कर्णाली १३ ।४ ओभरमा ४२ रनमा अलआउट भएपछि बागमतीले सामान्य लक्ष्य पाएको हो । कर्णालीका लागि श्रुति बुढाले १२ र विना थापाले १२ रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ बागमतीकी खुशी डंगोलले ४ विकेट लिँदा संस्कृति फुयालले २ विकेट लिइन् । ८ टोली सहभागी प्रतियोगिता शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । शीर्ष दुई टोलीले सोझै क्वालिफायर खेल्न पाउनेछन् । क्वालिफायरमा पराजित हुने टोलीले अर्को फाइनल खेल्ने अवसर पाउनेछ ।



प्रतिक्रिया दिनुहोस्