Logo

युवालक्षित नवप्रवर्तनलाई प्राथमिकता दिन प्रधानमन्त्री प्रचण्डको निर्देशन



काठमाडौँ, १२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालक्षित नवप्रवर्तनलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् ।

सिंहदरबारमा आज भएको उद्योग मन्त्रालयसँग सम्बन्धित छलफलमा उनले नवप्रवर्तनशील सोच र जोश भएका युवामा उद्यमशीलता प्रवद्र्धन गर्न ‘विजनेस इन्कवेसन सेन्टर’का माध्यमबाट सातै प्रदेश केन्द्रित व्यवसाय प्रवद्र्धन अभियान सञ्चालन गर्न निर्देशन दिए ।

प्रधानमन्त्रीले भने, “नवप्रवर्तन कोष परिचालन गरी कम्तीमा २० हजार युवाको नवीनतम सोचलाई वस्तु र सेवा उत्पादनमा जोड्ने तथा स्वरोजगारी, नवप्रवर्तन र विभिन्न व्यवसायले सिर्जना गर्ने रोजगारी मापनका लागि ‘जबमिटर’ को व्यवस्था गर्न विशेष योजना तयार गर्नुहोला ।”

प्रधानमन्त्रीले कूटनीतिक निकायलाई उद्योग तथा वाणिज्य प्रवद्र्धनमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक योजना, संयन्त्र र कार्यक्रम बनाएर अगाडि बढ्न निर्देशन दिए ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग तथा वाणिज्य प्रवद्र्धनका लागि विनियोजित रकम थोरै हुँदा निर्धारित कार्यक्रम सञ्चालन गर्न बाधा पुगेको बताउँदै त्यसका लागि एकीकृत समाधान खोजिनुपर्नेमा जोड दिए ।

मुख्यसचिव डा वैकुण्ठ अर्यालले प्रधानमन्त्रीले गरेको राष्ट्रका नाममा सम्बोधनमा समेटिएका विषय कार्ययोजना बनाएर कार्यान्वयनमा जान निर्देशन दिँदै अब उप्रान्त मन्त्रालयगत आँकडाका आधारमा मूल्याङ्कन हुने बताए । साथै उनले औद्योगिक क्षेत्र घोषणा गरिएका क्षेत्रलाई प्राथमिकता दिएर काम गर्न सचिवहरूलाई निर्देशन दिए । 



प्रतिक्रिया दिनुहोस्