Logo

बालकुमारी घटनाप्रति भर्त्सना गर्दै एमालेले भन्यो- वैधानिक बाटोबाट समस्याको समाधान खोजौं



काठमाडौं,१३ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ललितपुरको बालकुमारीमा शुक्रवार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीमाथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडप्रति भर्त्सना गरेका छन् । उनले विज्ञप्तिमा युवाको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पूरा गर्न सरकारसँग माग गरेका छन् ।

‘प्रदर्शनकारीमाथि गरिएको प्रहरी हस्तक्षेप, दमन र धरपकडप्रति एमाले भत्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘विनाभेदभाव परिक्षामा सामेल हुन पाउनुपर्ने युवाहरूको न्यायोचित मागलाई वार्ताको माध्यमबाट अविलम्ब पुरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

साथै प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण र वैधानिक बाटोबाट समस्याको समाधान खोज्न पनि एमालले अपिल गरेको छ ।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग एमालेको माग छ ।

शुक्रवार मध्यान्हमा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया भाषा परीक्षाको विषयलाई लिएर युवाहरूले बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रहरी प्रशासनले अश्रुग्यास प्रहार गर्दा दैलेखका २३ वर्षीय सुजन रावत र डोटीका २२ वर्षीय वीरेन्द्र शाह गरी २ जनाको मृत्यु भएको छ । केही व्यक्ति घाइतेसमेत भएका छन् ।



प्रतिक्रिया दिनुहोस्