काठमाडौं,१८ पुस । सन् २०२३ नेपाली क्रिकेटका लागि अत्यन्तै सफल र प्रगतिशील वर्ष रह्यो । यो वर्ष नेपालले क्रिकेट इतिहासमै पहिलोपटक विश्व क्रिकेटका महाराष्ट्र देशहरु भारत र पाकिस्तानसँग खेल्यो ।
यहि वर्ष नेपाल १० वर्षपछि टी-२० अन्तर्राष्ट्रिय विश्वकप क्रिकेटमा छनोट भयो । नेपाली सिनियर टिमका लागि मात्र होइन् । नेपाली यू-१९ र यू-१६ टोलीका लागि पनि वर्ष २०२३ अत्यन्तै उपलब्धिमुलक रह्यो ।
सन् २०२३ को वर्षभरीनै राष्ट्रिय सिनरियर टिम व्यस्त रह्यो । वर्षको सुरुवातदेखि मध्यसम्म नेपाली टिम ओडीआईका लागि व्यस्त रह्यो भने मध्यपछि अन्त्यसम्म नेपाली टिम टी २० आईमा व्यस्त रह्यो ।
सन् २०२३ को सुरुवातमा नेपाली टिमले लिग २ खेल्यो । जसमा खेलेका १२ खेलमध्ये ११ खेल जित्दै ओडीआई मान्यता जोगायो भने विश्वकपको ग्लोबल क्वालिफार्यरको लागि छनोट भयो । त्यसपछि नेपाली टिमले घरेलु मैदानमा एसीसी प्रिमियर कप खेल्यो । जहाँ अविजित रहँदै च्याम्पियन बनेर एसिया कपका लागि छनोट भयो ।
नेपालले यसै वर्षको जुनदेखि जुलाईसम्म जिम्बावेको हरारेमा ओडीआई विश्वकपका लागि ग्लोबल क्वालिफार्यर खेल्यो । नतिजा आफ्नो पक्षमा नआएपनि नेपाली टिमले जिम्बावे,वेण्टइण्डिज र आयरल्याण्डजस्ता टेष्ट राष्ट्रविरुद्ध डटेर खेल्ने मौका पायो । यसै वर्षको जुलाई १३ देखि नेपाली टिमले श्रीलंकामा आयोजित एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्यो । नेपाली टिमले भारत र पाकिस्तानको जुनियर टिमसँग खेलेको थियो । यद्यपि प्रदर्शन राम्रो भने हुन सकेन् ।
नेपाली सिनियर टिमले यसै वर्षको अगस्टमा एसिया कप खेल्यो जहाँ इतिहाँसमै नेपालले पहिलो पटक भारत र पाकिस्तानको सिनियर टिमसँग खेल्ने मौका पायो । पाकिस्तानसँग बलिङ र भारतसँगको ब्याटिङ नेपालको दमदार रह्यो । दुबै खेल हारेपनि नेपाली टिमको प्रशंसा ठूलै भएको थियो ।
एसिया कप लगत्तै नेपाली सिनियर टिम टी-२० फर्माटमा केन्द्रीत रह्यो । चीनमा आयोजित एसियाली खेलकुदमा नेपालले खेलमात्र खेलेन विश्व कीर्तिमानको बाढीनै लगाईदियो । मंगोलियाविरुद्धको खेलमा नेपाली टिमले विश्वकीर्तिमानको ओइरो लगाउनेक्रममा ३१४ रनको विशाल स्कोर खडा गरेर टी-२० क्रिकेटमा सर्वाधिक रन जोड्ने राष्ट्रको रुपमा नेपाल उभियो । यसअघि अफगानिस्तानले आयरल्याण्डविरुद्ध २ सय ७८ रनको सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको थियो ।
यसै खेलमा ९ बलको सामना गर्दै ५० रनको अर्धशतक बनाएर नेपाली टिमका अलराण्डर दीपेन्द्रसिंह ऐरीले दुर्लभ विश्वकीर्तिमान कायम गरे । उनको यो विश्वकीर्तिमान अब कुनैपनि खेलाडीले तोड्न सक्नेछैनन् । केबल बराबरी गर्नबाहेक । दीपेन्द्र १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहेका थिए । यसअघि भारतीय ब्याटर युवराज सिंहले टि-२० आईमा २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमै अर्धशतक बनाएका थिए ।
यस्तै सोहि खेलमा नेपाली टिमका खेलाडी कुशल मल्लले ३४ बलमै शतक प्रहार गरेर अर्को विश्वकीर्तिमान कायम गरे । ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको अविजित इनिङ खेलेका कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टि–२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् ।
यसअघि टि-२० आईमा सर्वाधिक छिटो शतक पुरा गर्नेमा साउथ अफ्रकाका डेविड मिलर ३५ बलमा विश्व रेकर्ड आफ्नो नाममा गरेका थिए । उनले बंगलादेश विरुद्ध उक्त सफलता हात पारेका थिए । त्यस्तै भारतका रोहित शर्मा र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक प्रहार गरेको इतिहास छ ।
यस्तै सोहि खेलमा बनेका अन्य विश्वकीर्तिमानहरु यस्ता छन् ।
तेस्रो विकेटका लागि सार्वाधिक लामो साझेदारी
नेपाली खेलाडीले मंगोलीयामा माथि तेस्रो विकेटका लागि सर्वाधिक लामो साझेदारीको रहेकर्ड समेत आफ्नो नाममा लेखाएका छन् । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल र कुशल मल्लले १ सय ९३ रनको साझेदारी इनिङ खेलेका हुन् । पौडेल र मल्लको शतकीय साझेदारी नै टी-२० आईको सर्वाधिक लामो साझादारी हो । यसअघि न्युजिल्ण्डका डेभन कन्भेय र ग्लेन फिलिप्सका नाममा यो रेकर्ड रहेको थियो । फिलिप्स र कन्भेयलेवेष्ट इन्डिज विरुद्ध १ सय ८४ रनको साझेदारी गरेका थिए ।
सर्वाधिक रन रेट
नेपालले सर्वाधिक रन रेटको रेकर्ड पनि बनाएको छ । मंगोलियाविरद्ध ३१४ रन बनाएको नेपालको रन रेट १५ दशमलव ७ रह्यो । २३ फेब्रअरी २०१९ मा अफगानिस्तानले आयरल्याण्डविरुद्ध २७८र३ बनाउने क्रममा १३ दशमलव ९ को रन रेट कायम गरेको थियो ।
सर्वाधिक छक्का
नेपालको नाममा अर्को रेकर्डमा सर्वाधिक छक्का रहेको छ । ३ सय १४ रनको स्कोर खडा गर्ने क्रममा नेपाली ब्याट्सम्यानहरुले २६ छक्का प्रहार गरेका थिए । यसअघि यो रेकर्ड ३० अगष्ट २०१९ मा टर्कीविरुद्ध २७८ रन बनाउने क्रममा चेक रिपब्लिकका ब्याट्सम्यानले २२ छक्का हानेर बनाएका थिए।
स्ट्राइक रेटमा ऐरीको कीर्तिमान
अलराउन्डर ऐरीको नाममा अर्को नयाँ रेकर्ड पनि कायम भयो । उनले १० बलमा अविजित ५२ रन बनाउदा स्ट्राइक रेट ५२० दशमलव ०० रहृयो । यसअघि१३ सेप्टेम्बर २००७ मा बंगलादेशविरुद्ध वेष्ट इण्डिजका डवेन स्मिथले मात्र ७ बलमा २९ रन जोड्दै ४१४ दशमलव २८ को स्ट्राइक रेटको कीर्तिमानी कायम गरेका थिए ।
एसियाडको उक्त खेलपछि समूह चरणको अर्को चरणमा पुगेपनि नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै सो प्रतियोगीताबाट बाहिरिएको थियो । एसियाडको समापनलगत्तै नेपालले तीन देश सम्मिलित टी-२० क्रिकेटको सिरिज खेलको थियो । नेपालसँगै यूएई र हंकङ्ग सहभागी उक्त सिरिजमा नेपाल उपविजेता बन्यो । त्यसपछि लगत्तै नेपालले घरेलु मैदानमै टी-२० विश्वकपको एसिया क्षेत्र छनोटको ग्लोबल क्वालिफार्यर खेल्यो । जहाँ सनसनीपूर्ण प्रदर्शन गर्दै नेपाली टिमले १ दशकपछि टी-२० विश्वकपको टिकट सुरक्षित गर्यो ।
सन् २०२३ मा ओडीआईतर्फ नेपालका क्रमश आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित, भीम सार्की टप ५ मा रहँदै सर्वाधिक रन बनाउने ब्याटर बन्दा यसै वर्ष ओडीआईमा नेपालका क्रमश सन्दीप लामिछाने,करण केसी, ललितनारायण राजवंशी, दीपेन्द्रसिंह ऐरी, सोमपाल कार्मी सर्वाधिक विकेट लिने नेपालका खेलाडी बन्न पुगे । यसै वर्ष सन्दीपले ओडीआइमा सर्वाधिक छिटो १ सय विकेट पूरा गरेर रेकर्ड कायम गरे ।
त्यस्तै टी-२० आइतर्फ यसवर्ष सबैभन्दा धेरै रन बनाउने ५ नेपाली खेलाडीमा क्रमश रोहितकुमार पौडेल, कुशल मल्ल, कुशल भूर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी रहन पुगे । टी-२० आईमा १ हजार रन पूरा गर्ने एकमात्र नेपाली खेलाडी हुन् । यस्तै यसैवर्ष टी-२० आईमा सर्वाधिक विकेट लिने ५ नेपाली खेलाडीमा क्रमश अविनाश बोहरा,करण केसी,सोमपाल कामी,सन्दीप लामिछाने र गुल्सन झा रहन पुगे ।
त्यस्तै वर्ष २०२३ मा नेपालका लागि ओडीआइ र टी-२० दुबैमा गरी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा अलराण्डर दीपेन्द्रसिंह ऐरी ६३३ रनका साथ पाँचौ स्थानमा रहन पुगे । त्यस्तै दुबै फम्र्याटमा गरी ९१५ रन जोडेका आशिफ शेख चौथो स्थानमा रहँदा कप्तान रोहित पौडेल ९३२ रनका साथ तेस्रो स्थानमा रहँदा ओपनर ब्याटस्म्यान कुशल भूर्तेलले ९३२ रन नै जोडेका छन् । यस्तै नेपाली टिमका तर्फबाट शीर्ष स्थानमा रहको युवा स्टार ब्याटर कुशल मल्लले यस वर्ष दुबै फम्र्याटमा गरी कूल ९५१ रन जोडेका छन् । यस्तै यस वर्ष ओडीआइ र टी-२० दुबै फम्र्याटमा गरी बलिङतर्फ ५६ विकेट लिएका स्टार स्पिनर सन्दीप लामिछाने पहिलो स्थानमा रहेका छन् । दोस्रो स्थानमा करण केसी रहेका छन् ।
यसै वर्ष नेपाली यू १९ टिमले एसिया कप खेल्ने अवसर पायो । यू-१९ विश्वकपको तयारीको रुपमा हेरिएको एसिया कपमा नेपालले भारत,पाकिस्तानसँगै अफ्गानस्तानसँग भिडेको थियो । नतिजा नेपालको पक्षमा नआएपनि नेपाली टिमको प्रदर्शन भने मध्ययम रह्यो । नेपाली यू १९ टिमले यसै महिनामा दक्षिण अफ्रिकामा यू-१९ विश्वकप खेल्दैछ। त्यसअघि नेपालले एसिया कप खेखेको हो ।
वर्ष २०२३ मै नेपाली यू १९ टिम मलेसियामा भएको एसिसी प्रिमियर कपमा सहभागी भएको थियो । नेपालले उक्त प्रतियोगीताको उपाधि जितेर एसिया कपमा स्थान पक्का गरेको थियो।