काठमाडौं,१९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका पाइलट सम्राटबहादुर शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार आयोगले विशेष अदालतमा उनीविरुद्ध आरोपपत्र दायर गरेको हो ।
शाहले झुटो शैक्षिक प्रमाणपत्र पेस गरेर विमान चालकको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुर गरेको आयोगको ठहर छ ।
०७१ फागुन १० गते शाह निगममा जुनियर क्याप्टेन पदमा नियुक्त भएका थिए । पछि आठौँ तहको विमान चालक (क्याप्टेन) पदमा बढुवा भई कार्यरत थिए ।
उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदनमाथि आयोगले अनुसन्धान थालेको थियो ।
“झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी विमान चालकको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज सम्राटबहादुर शाहलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,” आयोगका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शाहले भारतको सेकेण्डरी एजुकेशन काउन्सिल उत्तर प्रदेशअन्तर्गत भीएसजे इन्टर कलेज सराहरी गोरखपुरबाट २०२३ को इन्टरमिडियट (प्राइभेट परीक्षा) प्रथम श्रेणीमा उत्तीर्णसहितको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी विमान चालकको हैसियतमा लाभ लिएको पुष्टि भएको घिमिरेले बताए ।