काठमाडौं, २२ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलले भागबण्डा टुङ्ग्याएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (आइतबार) बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि भागबण्डा टुंग्याएको हो ।
सत्ता गठबन्धनको सबैभन्दा ठूला दल नेपाली कांग्रेसले राष्ट्रिय सभामा १० सिट पाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी थिए ।
आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा भोलि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।