रुकुम, २२ पुस । यस वर्ष रुकुम पश्चिम खाद्य सुरक्षित जिल्ला नहरने भएको छ । गत कात्तिक १७ गते रामिडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्प र भदौ १७ गते चलेको हावाहुरीका कारण खाद्य क्षेत्रमा ठूलो क्षति भएपछि यस वर्ष जिल्लामा खाद्य सङ्कट हुने देखिएको हो ।
गत भदौ १७ गते चलेको हावाहुरीका कारण जिल्ला भर चार हजार मेट्रिक टन मकै नष्ट भएको थियो । त्यस्तै भूकम्पका कारण घर भत्किँदा घरमा भण्डारण गरेर राखिएको करिब ५५ मेट्रिन टन खाद्यान्न पुरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
विपत्ले कृषि क्षेत्रमा पु¥याएको क्षतिका कारण जिल्लामा यस वर्ष चार हजार मेट्रिक टन खाद्य अपुग हुने देखिएको कार्यालयका प्रमुख मीनबहादुर केसीले जानकारी दिए । “केही मकै भदौमा हावाहुरीका कारण क्षति भएको छ । केही भूकम्पका कारण घर भत्किँदा पुरिएर क्षति भएको छ । अहिले फेरि भूकम्प प्रभावित क्षेत्रका नागरिक कृषितर्फ भन्दा पनि अस्थायी आवास निर्माणतर्फ लागेकाले यस वर्ष खाद्य सङ्कट हुने देखिएको हो”, उनले भने ।
विगतका वर्षमा जिल्लामा उत्पादन भएको कृषि उपज खाएर पनि दुई हजार पाँच सय मेट्रिक टन बचत हुने गरेको केसीले जानकारी दिए । “यसअघिका वर्षमा यहाँ उत्पादित कृषि उपज जिल्लामै खपत भएर पनि निर्यात हुने गरेको थियो । यस वर्ष भने चार हजार मेट्रिक टन खाद्य अपुग हुने देखिएको छ”, उनले भने ।
भूकम्पकै कारण जिल्लामा कृषि क्षेत्रमा ६५ लाखको क्षति भएको प्रमुख केसीले जानकारी दिए । उनका अनुसार भूकम्पका कारण मकै, दलहन बाली र मौरीका घारमा क्षति गरेको हो ।
“भदौमा हावाहुरीबाट जोगिएको थोरै मकै भण्डारण गरेका थियौँ । त्यो पनि भूकम्पले घर भत्किँदा पुरिएको छ । निकाल्न सकिएन । घरमा रहेका मौरीका घारमा पनि क्षति गरेको छ । खेतीयोग्य जमिनमा हामीले टहरा निर्माण गरेका छौँ । यो वर्ष के खाने भन्ने पिर छ”, आठविसकोट–१४ की चन्द्रकला मल्लले भने ।
राहतस्वरुप दिइएको चामल पनि सकिँदै गएको र घरमा कुटानीपिसानीका लागि अन्न नभएकाले भोक हुने चिन्ता भूकम्पपीडितलाई छ । “राहतस्वरुप दिएको चामल र अन्य खाद्य सामान सकिन लागेको छ । घरमा रहेको सबै अन्न घरसँगै पुरियो । भूकम्प नगएको भए पनि हामी रोजगारीको लागि भारत जान्थ्र्यौँ यति बेला अस्थायी टहरा निर्माण गर्नुपर्दा भारत पनि जान पाएका छैनौँ । केही पैसा कमाउन पाएको भए अन्न किनेर खान हुन्थ्यो”, भूकम्पपीडित भरे नेपालीले भने ।
कृषि विकास कार्यालयले भूकम्पका कारण जिल्लामा भएको क्षतिबाट खाद्य सङ्कटको अवस्था आउन नदिनका लागि प्रदेश सरकारलाई आग्रह गरिएको बताउँदै आएको छ । जिल्लामा कृषिमा भएको क्षतिको विवरण प्रदेश सरकार समक्ष बुझाइएको कृषि विकास कार्यालयले जनाएको छ ।रासस