काठमाडौं, २३ पुस । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले सहकारीमा जम्मा गरेको पैसा दुरुपयोग गरेको आरोप लगाएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले जनताको पैसा रास्वपा सभापति लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजनमा लगानी गरेको दुरुपयोग गरेको आरोप लगाएका हुन् । नेता पाण्डेले रास्वपा सभापति लामिछानेले मुलुकलाई हेपेको टिप्पणी गरे । जनतालाई लामिछानेले यतिधेरै हेप्दा पनि हाईहाई हुनुको कारण आफूले थाहा पाउन नसकेको उनले बताए ।
‘केही नेताहरुले गरेको अकर्मन्यताले मुलुकलाई ठूलो हेपाई भएको छ । तर, हाईहाई हुनुहुन्छ । कारण के हो ? थाहा छैन । तर, उहाँहरुले गरेको व्यवहारले मुलुकलाई हेपियो ।’ उनले भने, ‘जनताको त्यत्रो पैसा टेलिभिजनमा लगाइयो । आज पनि म सुन्दै थिएँ– रवि लामिछानेको नेतृत्वमा भएको ग्यालेक्सी टिभी, त्यहाँ जनताको पसिना छ । जनताको पैसा छ त्यहाँ, त्यो दुरुपयोग भएको छ । त्यसतर्फ ध्यान गएको छैन । एउटा एन्टीकरेन्ट चलेको छ अहिले । हावा उल्टो चलेको छ । वास्तविकतातिर ध्यान पुगेको छैन ।’
रविलाई एमाले अध्यक्ष ओलीले सबै सिनियर नेतालाई पन्छाएर उपप्रधान एवं गृहमन्त्री दिएको उनले टिप्पणी गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै नेता पाण्डेले रविलाई नागरिकता र पासपोर्ट काण्डमा छुट दिइएको टिप्पणी गरे ।
‘रवि लामिछानेकै कुरा गर्नुभयो भने नागरिकता काण्ड, पासपोर्ट काण्ड भयो । म मन्त्री भइसकेको मान्छे हुँ । यदि मेरो छोराले त्यो काम गरेको थियो भने मेरो छोरा अहिले जेलमा हुन्थ्यो ।’ उनले भने, ‘तर, उहाँले छुट पाउनुभयो । त्यसको सँगसँगै आज सहकारीको कुरा आएको छ ।’