दमौली (तनहुँ), २५ पुस । तनहुँको भिमाद नगरपालिका–५ सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
पोखराबाट पाल्पाको रामपुर जॉदै गरेको यात्रुवाहक जिप आज दुर्घटना हुँदा घाइते एकको मृत्यु भएको हो । घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । मृतकको पहिचान खुल्न बाँकी छ ।
ग१ज ६३५६ नंको जिप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । जिपमा सवार चालकसहित १२ जनाको उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएको हो । थप उपचारका लागि तीनजनालाई पोखरा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस