काठमाडौं, २९ पुष । सत्ता गठबन्धनमा आवद्ध सिके राउत नेतृत्वको जनमत पार्टी गठबन्धनबाट बाहिरिने निश्कर्षमा पुगेको छ। अहिले जनमत पार्टीबाट अनितादेवी सरकारमा संघीय मामिला मन्त्रालयको नेतृत्वमा छिन् । यसअघि उपाध्यक्ष अब्दुल खाँन खानेपानी मन्त्री बनिसकेका छन् ।
जनमत पार्टी ०७९ को निर्वाचनपछि बनेको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा निरन्तर छ । बीचमा रोजेको मन्त्रालय नपाएर केही समय सरकार बाहिर रहेको जनमत पछि सरकारमा सहभागी भएको थियो । उता, मधेश प्रदेशमा पनि जनमत सरकारमा छ । अहिले जनमतका अध्यक्ष सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना सुरु गरेका छन् ।
खासगरी गठबन्धनमा आफूहरुसँग सल्लाह नै नगरेको राउतको गुनासो छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा सिटको भागबण्डा गर्दा गठबन्धनका दलहरुले एक सिटपनि नदिएकोमा राउत रुष्ट छन् । उनले गठबन्धनमा ठूला दलको सिण्डिकेट चलेको आरोप लगाउन थालेका छन् ।
आफूनिकट नेताहरुसँग जतिबेला पनि सरकारबाट बाहिरिनुपर्ने भन्दै त्यहीअनुसार तयारी अवस्थामा रहन निर्देशन दिन थालेको उनीनिकट स्रोतको दाबी छ । राउतले सत्ता गठबन्धनका शीर्ष नेताहरुको आग्रहलाई लत्याउँदै राष्ट्रियसभाको निर्वाचनमा लुम्बिनी र मधेश प्देशमा उम्मेद्वारी दिन लगाएका छन् । जनमतबाट परेको उम्मेद्वारी फिर्ता लिनको लागि प्रधानमन्त्री प्रचण्डले नै राउतलाई आग्रह गरेका थिए । तर, राउतले आफू उक्त कदमबाट ब्याक नहुने सन्देश पठाएका छन् । file photo