Logo

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ: राष्ट्रपति पौडेल



काठमाडौं, माघ १ ।राष्ट्रपति रामचन्द्र पौडेलले माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । यस पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आइरहेको जनाउँदै उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गरेकाछन् ।

“थारू समुदायले माघी पर्वलाई नयाँ वर्षको रूपमा मनाउँदछन् भने मगर समुदायमा यस दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ । तराई वासीले नहान अर्थात नुहाउने पर्वको रूपमा मनाउँदछन् । यो पर्वमा पवित्र नदी एवम् त्रिवेणीमा स्नानपश्चात् पूजा अर्चना गरी घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडी जस्ता खाद्य परिकार सेवन गर्ने परम्परा रहेकाले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको छु ।” राष्ट्रपतिद्वारा जारी शुभकामना संदेशमा उल्लेख छ ।

यस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै साँस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिएमा मुलुकलाई विश्व सामु परिचित गराउन महत्त्वूर्ण भूमिका रहने उनको विश्वास छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य‚ सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिल्ने शुभकामना संदेशमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्