Logo

वीरगञ्जका मेयर सिंहलाई तत्काल पक्राउ गरी कारबाही गर्न पर्साका विभिन्न व्यक्तिहरुको माग (भिडिओसहित)



काठमाडौं, ४ माघ । पर्साका महम्मद सशाबुदिन, अनिल सिंह, अजयकुमार गुप्ता, विजय महतो, मुकेश द्धिवेदी, पुरुषोत्तम झा, दिलिप कुमार कुर्मी, जलेश्वर सर्राफ, मनोज राउत कुर्मीले वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई तत्काल पदबाट निलम्बन गर्न माग गरेका छन् । उनीहरुले सिंहले आजभन्दा ९ वर्षअघि काठमाडौंमा जन्मिएकी (बाबु र आमाको नाम सम्झना नभएको) एक जना भट्टराई थर भएको दम्पत्तिको छोरीलाई आफ्नो छोरी भनी निजको नाम रुबीना श्रेष्ठ राखी नागरिकता बनाईदिएको दाबी गरेका छन् । राजेशको भने एकमात्र सन्तान (छोरा अनिशमान सिंह) हुन् । राजेशमान भूपेन्द्रमान सिंहका छोरा हुन् । उनकी पत्नीको नाम भने अन्नपूर्ण मानन्धर हो ।

उनीहरुकाअनुसार निजको जन्म मिति २०५९ असार ३० गते राखी वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ को कार्यालयबाट २०७१ साल कार्तिक २० गते जन्मदर्ताको झुठो प्रमाणपत्र बनाउन लगाएको देखिएको छ । पैसाको ठूलो चलखेल गरेर यसरी झुठो जन्मदर्ता बनाई सोही झुठो जन्मदर्ताको आधारमा जिल्ला प्रशासन कार्यालयमा अर्काकी छोरीलाई आफ्नो छोरी हो भनेर झुठो विवरण पेश गरेर २०७५ साउन १३ गते रुबीना श्रेष्ठको नाममा ३४–०१–७५–०४८४७ नम्बरको नागरिकता बनाउन सफल भएको छ ।

मेयर राजेशले गरेको काम नागरिकता ऐनको र राहदानी ऐनले गरेको व्यवस्थाविपरितको कार्य भएको र सो कार्य अपराधिक कार्य भएकोले अपराध गर्ने अपराधीलाई अविलम्ब पक्राउ गरी पदबाट निलम्बन प्रक्रिया अघि बढाउन उजुरीकर्ताहरुको माग छ । उनीहरुले आफूहरुले अघि सारेको माग पूरा नभए थप आन्दोलन गर्न बाध्य हुनेपनि चेतावनी दिएका छन् ।

विपक्षी रुबीनाले सोही नागरिकता प्रयोग गरेर २०७९ साउन २४ गते राहदानीसमेत लिएकी छिन् । उनले लिएको राहदानी नम्बर भने ११०३९६१७ रहेको उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्