काठमाडौं, १० माघ । ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड जनताको बैंकको रुपमा परिचित छ । अन्य सरकारी संस्थान तथा निकायहरुको प्रस्तुति कमजोर रहेको बेलामा राष्ट्रिय वाणिज्य बैंकले भने व्यावसायिक कुसलता देखाउँदै आफूलाई अब्बल सावित गरेको छ । बैंकले जनाएअनुसार यस वर्षको असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ छ । यस्तै, बैंकको विद्यमान पुँजी संरचनाअनुसार सरकारको ९९ दशमलव ९७ प्रतिशत र सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत शेयर रहेको छ । बैंकको पुँजी कोष ५० अर्ब ७४ करोड रहेको छ ।
बैंकको सिईओ किरणकुमार श्रेष्ठको कुशल र भिजनरी नेतृत्वको कारण बैंकले निरन्तर सबै सूचकमा सकारात्मक रुपमा लिड गरिरहेको छ । गत असार मसान्तसम्ममा बैंकको निष्क्रिय कर्जा अनुपात तीन दशमलव ७७ प्रतिशत छ । यस्तै, गत पुस मसान्तसम्ममा बैंकमा सर्वसाधारण र संस्थागत गरी ४१ लाख ४० हजारभन्दा बढी निक्षेपकर्ताको तीन खर्ब ३८ अर्ब ४४ करोड निक्षेप रहेको छ । कर्जातर्फ एक लाख ९४ हजारभन्दा बढी ग्राहकलाई दुई खर्ब ५६ अर्ब ७० करोड बराबर ऋण विस्तार भएको बैंकले जनाएको छ ।
बैंकले आव २०६०/६१ देखि निरन्तर मुनाफा आर्जन गरिरहेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा बैंकले तीन अर्ब ५९ करोड खुद मुनाफा कमाएको तथ्यांक सार्वजनिक छ । गतवर्ष बढी खुद मुनाफाआर्जन गर्ने बैंकको सूचीमा राष्ट्रिय वाणिज्य बैंक दोस्रो स्थानमा छ । गतवर्षमा आर्जित मुनाफाबाट बैंकले पाँच दशमलव ५० प्रतिशत नगद लाभांश पनि वितरण गरेको थियो ।
त्यस्तै, सरकारबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ताको अधिकांश कारोबार यसै बैंकबाट हुने गरेको छ । बैंकले गत आर्थिक वर्ष सरकारलाई दुई अर्ब १८ करोड आयकर तिरेको थियो । बैंकको शाखा सञ्जाल ७७ वटै जिल्ला सदरमुकामसहित दुई सय ८६ शाखा कार्यालय, ६४ एक्सटेन्सन काउन्टर तथा ९५ वटा शाखारहित बैंकिङ एकाईमार्फत् सेवा दिइरहेको छ । व्यावसायिक सम्भाव्यताका आधारमा शाखा विस्तार गर्ने नीतिअनुरुप चालु आर्थिक वर्षभित्रमा शाखा सङ्ख्या तीन सय २० पु¥याउने लक्ष्य बैंकले लिएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमका लागि सहयोग गर्दै आएको छ । दैवी तथा प्राकृतिक प्रकोप पीडितलाई आर्थिक सहायता, वित्तीय साक्षरता कार्यक्रम, शैक्षिकस्तर वृद्धिका लागि शैक्षिक सामग्री वितरण, विभिन्न धार्मिक तथा सांस्कृतिक सम्वर्द्धन क्षेत्रमा पनि बैंकले सहयोग गरिहेको छ ।
बैंकलाई आधुनिक समयानुसार सञ्चालनको लागि सिईओ श्रेष्ठले आँफै पहल लिइरहेका छन् । उनले बैंकिङ प्रणाली डिजिटल बनाउनसमेत भूमिका खेलेका छन् । सिईओ श्रेष्ठको भूमिकालाई लिएर अर्थमन्त्रालयका अधिकारीहरु पनि खुशी छन् । खासगरी अर्थमन्त्री डा. प्रकाशशरण महतले समेत उनको भूमिकालाई लिएर प्रशंसा गर्ने गरेका छन् ।
बैंकका सिईओ श्रेष्ठले आफ्नो बैंकिङ करियर भने २०४३ सालबाट सुरु गरेका हुन् । उनले नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट एसिस्टेन्ट म्यानेजरको रुपमा आफ्नो करियर सुरु गरेका श्रेष्ठले जनप्रशासनमा स्नातकोत्तर र वाणिज्य विषयमा स्नातक गरेका छन् । उनले नेपाल बैंककमा सफलतापूर्वक चार वर्ष महाप्रवन्धकको जिम्मेवारी निर्वाह गरेका छन्। उनी राष्ट्रिय वाणिज्य बैंकमा खुला प्रतिष्पर्धाबाट छानिएका दोस्रो सिईओ हुन् ।