Logo

भोलिको मधेश बन्द सफल बनाउन आजपाका कमाण्डरहरु फिल्डमा, चोकचोकमा राँके जुलुश निकाले



काठमाडौं, १० माघ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भोलि (बिहीबार) माघ ११ गतेको मधेश बन्द सफल बनाउन हजारौंको संख्यामा युवाहरु परिचालित गरेको छ । मधेश बन्द सफल तुल्याउनको लागि पार्टीका युवा नेताहरु यसअघि नै मधेश झरिसकेका छन् । आजपाको जनवर्गीय संगठन आईटी आर्मी बन्द सफल बनाउनको लागि फिल्डमा खटिएको छ ।

आज (बुधबार) साँझ मधेश प्रदेशका विभिन्न शहरहरुमा युवाहरुले राँके जुलुश निकालेका छन् । त्यसअघि मधेश प्रदेशको राजधानी जनकपुरको मुटु मानिने जानकी मन्दिर परिसरमा आईटी आर्मीले परेड गरेको थियो । उनीहरुले मधेश सफाई अभियान नाम दिएर परेड गरेका हुन् ।

आजपाका प्रवक्ता चन्द्रभुषण साहले आजबाट आफूहरुले मधेशको राजधानी जनकपुरबाट सफाई अभियान सुरु गरेको जनाए । उनकाअनुसार उक्त सफाई अभियान स्वास्थ्यको हिसाबले मात्रै सफाई नभएर राजनीतिमा देखिएको गलत प्रवृत्ति र भ्रष्टाचारको पनि सफाई हो ।

जानकी मन्दिरमा अर्धसैनिक दस्ताको भेषमा प्रस्तुत भएका आईटी आर्मीहरुको मनोवल बढाउनको लागि पार्टीका केन्द्रीय नेताहरु पनि फिल्डमा खटिएका थिए । सो सफाई अभियानबारे प्रवक्ता साहले फेशबुक पेजमा लेखेका छन्-

हाम्रो गौरवशाली संगठन आईटी आर्मीले आज जनकपुरबाट सफाई अभियान शुरू गरेको छ । बैंकिंग लुटको विरुद्ध माघ ११ गतेको मधेश बन्दलाई सफल पार्न जनकपुर पुगेका हाम्रो आईटी आर्मीका कमाण्डरहरुले जानकी मन्दिरबाट मधेश प्रदेश सरकारको भ्रष्टाचार, बेथीति र गन्दगीलाई जसरी पनि सफा गरेर छाडने संकल्प एवं प्रतिबद्धता व्यक्त गरेका छन ।



प्रतिक्रिया दिनुहोस्