काठमाडौं, माघ ११ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त प्रभावका कारण आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहने छ भने बाँकी भू-भागमा मौसम सफा रहनेछ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ ।