काठमाडौं, माघ १२ । आगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै छिटफुट वर्षा हुनसक्ने छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै महाशाखाले आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ।
आज देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना सँगै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ ।