Logo

उच्चस्तरीय भेटघाट तथा छलफलमा व्यस्त राजकिशोर यादव नेतृत्वको प्रतिनिधि मण्डल



काठमाडौँ, माघ १९ । भारत भ्रमणमा रहेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वको प्रतिनिधि मण्डल उच्चस्तरीय भेटघाट तथा छलफलमा व्यस्त रहेको छ ।

भारतीय लोकसभाको विदेश मामिला समितिको निमन्त्रणामा त्यहाँ पुगेका एक दर्जन सांसदहरुले भारत भ्रमणका क्रममा भारतस्थित नेपाली राजदूत शंकर शर्मा, लोकसभाका सभाध्यक्ष ओम बिरलाल, लोकसभाका विदेश मामिला समितिका सभापति पीपी चौधरी गायत अन्य भारतीय सांसद तथा वरिष्ठ अधिकारीहरूसँग छलफल गरेका छन् । सो छलफलमा संसद् सञ्चालन, विधि प्रक्रिया तथा दुई देश बिचको सम्बन्धको बारेमा कुराकानी भएको जनाइएको छ ।

छलफल दुई देश बिचको अन्तर्राष्ट्रिय सम्बन्धलाई संसद्मार्फत कसरी बलियो बनाउने विषयमा केन्द्रित रहेको सभापती यादवले रिपोर्टर्स नेपाललाई जानकारी दिए । भ्रमण भारतका सांसदहरू तथा विदेश समितिले कसरी काम गरिरहेका छन्, समितिमा कस्ता कस्ता विषयले छलफलका लागि स्थान पाउँन्छ लगायतका विषयमा जानकारी लिएको उनले बताए ।

भारतीय लोकसभा सञ्चालनको अनुभव समेत जान्ने अवसर मिलेको बताउँदै उनले बिहिबार साँझ भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले नेपाली सांसदहरूका लागि आयोजना गरेको रात्रिभोजमा उच्च पदस्थ अधिकारी, उद्योगपति, बुद्धिजीवी तथा सांसदहरूसमेत भेटवार्ता भएको जानकारी दिए ।

भ्रमण दलमा सांसदहरू छिरिङ शेर्पा, योगेश गौचन, गंगाराम चौधरी, सुनिता बराल, शिशिर खनाल, सम्झना थपलिया, र हरिप्रसाद उप्रेती रहेका छन् । समितिका सहसचिव बबिता मिश्र र शाखा अधिकृत प्रमिला पौडेल गौतम गरी दुई जना कर्मचारी पनि रहेका छन् । उनीहरु फेब्रुअरी ७ सम्म भारतमा रहनेछन् ।



प्रतिक्रिया दिनुहोस्