Logo

हात्ती आतंक नियन्त्रणको लागि सांसद डाँगीको ज्ञापनपत्र, प्रभावित क्षेत्रको निरीक्षण गर्न मन्त्री महतोलाई आग्रह



काठमाडौं, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले हात्ती आतंक नियन्त्रणको लागि वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोसमक्ष आग्रह गरेकी छिन् । आज (मंगलबार) सिंहदरबारस्थित् वन तथा वातावरण मन्त्रालयमा पुगेर सांसद डाँगीले मन्त्री महतोको ध्यानाकार्षण गराएकी हुन् । सो अवसरमा उनले मन्त्री महतोलाई हात्तीबाट प्रभावित क्षेत्रको निरीक्षणको लागि पनि आग्रह गरेकी छिन् ।

उनले बुझाएको ज्ञापनपत्रमा हालसम्म गरिएका तारबार र अन्य रोकावटका माध्यम निरन्तर अनुगमन र रेखदेख गर्नुपर्ने उल्लेख रहेको छ । यस्तै, सुरक्षाको निम्ति आर्मीहरुलाई उपयुक्त तवरले जंगली जनावरको आतङ्क न्यूनीकरण गर्न तालिम दिनुपर्ने एवम् परिचालन गर्नुपर्नेपनि कुरा ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सांसद डाँगीले मन्त्री महतोलाई बुझाएको ध्यानाकार्षणपत्र यस्तो छ-

हात्ती आतंक नियन्त्रणार्थ मन्त्रीसहितको टोलीले तत्कालै उक्त प्रभावित क्षेत्रको निरीक्षण गर्न माग गर्दै निम्नानुसारको सुझाव सहित आज माननीय वन तथा वातावरण मन्त्री ज्यूको ध्यानाकर्षण गराएकाछौ ।
१) हाल सम्म गरिएको तारबार (Fenching Ware) र अन्य रोकावटका माध्यम निरन्तर अनुगमन र रेखदेख गर्दै कति भत्किएका छन्, काटिएका छन पत्ता लगाएर मर्मत र नयाँ जडान गर्नुपर्ने,
२) सुरक्षाको निम्ति आर्मीहरुलाई उपर्युक्त तवरले जङगलि जनावरको आतङ्क न्युनिकरण गर्न तालिम दिनुपर्ने एवम् परिचालन गर्नुपर्ने,
३) सरकारले वन्यजन्तु र मानव बीचको सम्बन्ध सन्तुलित राख्ख जनचेतनाका कार्यक्रमहरु राज्यले संचालन गर्दै कक्षा १ देखि कक्षा १२ सम्मको पाठ्यक्रममा समावेश गर्नुपर्ने,
४) यो वर्ष हात्ती नियन्त्रणनार्थ कुन कार्यका लागि कति रकम विनियोजन भएको छ, पारदर्शी भएर उचित लेखाजोखा गर्नुपर्ने र थप अपुग बजेटको व्यवस्था गर्नुपर्ने,
५) हात्तीबाट पीडित परिवारलाई र वालिनाली क्षति भय बापत पाउने क्षतिपूर्ति दिने प्रक्रिया अत्यन्तै लामो र झन्झटिलो भएको कारणबाट राहत निर्देशिकालाई संशोधन गरी यो कार्य स्थानिय सरकार मार्फत अगाडी बढाउनुपर्ने ।
र हात्ती प्रजनन केन्द्रमा सुँड काटिने घटना होस् वा बर्दियामा बाघको आतङ्क, चाहे वन्यजन्तुमाथिको मानव आक्रमण होस् वा मानवमाथिको वन्यजन्तुको हमला, दुवै घटना खतराको संकेत हो । वन्यजन्तु र मानव बीचको सम्बन्ध यसरी बिग्रदै जाने हो भने, हामी कोही पनि सुरक्षित रहन सक्दैनौ । तसर्थ, हात्तीलगायतका वन्यजन्तु आक्रमाणका घटनाको गाम्भिर्यतालाई यथाशिघ्र सम्बोधन गर्नको निम्ति ध्यानाकर्षण गराएकाछौ ।



प्रतिक्रिया दिनुहोस्