काठमाडौं, २५ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. गोविन्दराज पोखरेलले पछिल्लो एक वर्षमा भ्रष्टाचारका ठूला ठूला काण्डमा अनुसन्धानको क्रममा कतै न कतै सामसुम पारिएको टिप्पणी गरेका छन् । बाँसबारी जग्गा हडपेको भनेर पक्राउ परेका अरुण चौधरीलाई हाजिरी जमानीमा रिहा गर्ने अदालतको आदेशप्रति आफ्नो कुनै विमति नरहेको पोखरेलले सुनाए ।
आज (बिहीबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कतिपय केशमा मान्छेलाई थुनेरैमात्र समस्याको समाधान हुन्छ भन्ने मानसिकता देखिएको भन्दै त्यसप्रति उनले असहमति प्रकट गरे ।
उनले भने,‘हामीले अनुसन्धान गरेर, त्यो मान्छेले दुरुपयोग गरेको रकमको या चार/पाँच गुणा जरिवाना लगाएर आर्थिक रुपमा त्यसलाई सजाय दिएर अनि जघन्य रहेछ भने त्यसलाई हामीले थुन्नेतिर लाग्नुपर्छ । तर, नेपालका ऐन तथा कानून कस्ता छन् भने डुब्लिकेट सामान बेचेपनि दुई महिना जेल भनेको छ ।’ गरिखाने वर्गबाट जानी जानी गल्ती गरेको हो वा गल्ती भएको छ भनेर हेरिनुपर्ने उनको भनाई छ । प्रक्रियागत गल्ती गर्नेलाई सुधार गर्न सकिने उनको भनाई छ ।