काठमाडौं, २७ माघ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो गृहजिल्ला पुगेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा आज (शनिबार) आयोजित सोनाम ल्होछार मनाउनको लागि उनी सिरहा पुगेका हुन् ।
कर्जन्हा नगरपालिकाका प्रमुख भोला पोखरेल र उपप्रमुख लक्ष्मी श्रेष्ठ, विभिन्न वडाका अध्यक्षहरु, अन्य दलका नेताहरुको उपस्थितिमा आयोजित सोनाम ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री महतो सहभागी भएका हुन् । सो अवसरमा मन्त्री महतोले सोनाम ल्होछारले मुलुकमा सुख, शान्ति र समृद्धि स्थापनाको लागि प्रेरिरत गर्ने विश्वास व्यक्त गरेका छन् ।
तामाङ समूदायका सबै एक ठाउँमा भेला भई सामूहिक रुपमा ल्होछार मनाउने गरिएको छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् ।