Logo

कतारले जित्यो एएफसी एसियन कप फुटबलको उपाधि



काठमाडौं, माघ २८ । एएफसी एसियन कप फुटबलको उपाधि कतारले जितेको छ । कतारले शनिबार राति जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएको हो । कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरेका थिए । तर उनले सबै गोल पेनाल्टीमार्फत गरेका हुन् । अफिफ एएफसी एशिया कपमा सर्वाधिक गोलकर्ता पनि बने । उनले प्रतियोगिताभर ८ गोल गरेका थिए ।

२२ औं मिनेटमा कतारले अफिफको पेनाल्टीमार्फत अग्रता लिएको थियो । उनीमाथि जोर्डनका खेलाडीले फल गरेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । १ गोलले पछि परेको जोर्डनले कमब्याक गर्दै ६७ औं मिनेटमा बराबरी गरेको थियो । जोर्डनका यजान अल नैमातले गोल गरेपछि खेल एक एकको बराबरीमा आएको थियो ।

७२ औं मिनेटमा पनि पाएको पेनाल्टीमा अक्रमले नै गोल गरेका थिए । अतिरिक्त समयको पाँचौं मिनेटमा फेरि कतारले पेनाल्टी पाउँदा अक्रमकले ह्याट्रिक नै पूरा गरे । कतारले यसअघि सन् २०१९ मा जापानलाई पराजित गर्दै उपाधि जितेको थियो ।



प्रतिक्रिया दिनुहोस्