Logo

शंकर पोखरेलको दाबी : एमाले बाहेक अन्य दलसँग मुलुक बनाउने नीति/विचार छैन



दैलेख, २८ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकार पूर्ण असफल रहेको दाबी गरेका छन् । नेकपा (एमाले) दैलेखको आठौँ जिल्ला अधिवेशनलाई हिजो (शनिबार) सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार राष्ट्रिय हित र जनताका काममा इतिहासमै कमजोर सावित भएको बताएका हुन् ।

उनले गठबन्धन सरकारले जनताका आवश्यकता भन्दा नेताका चाहना अनुसारका मात्र काम गरेको चर्चा गर्दै मुलुकको राष्ट्रिय राजनीति गम्भीर मोड देखिएको बताए । सरकार अर्थ व्यवस्थालाई नेतृत्व गर्न पूर्ण असक्षम रहेको बताउँदै उनले भने– निर्माण व्यवसायीले काम गरेको पैसा पाएका छैनन् । पुँजीगत खर्चको स्थिति निराशाजनक छ । युवा पलायनको स्थिति भयावह छ । सरकार सत्ता टिकाउनमै केन्द्रित देखिन्छ ।

अहिले मुलुकमा देखिएका समस्याको निराकरण गन सक्ने पार्टी नेकपा (एमाले) मात्र रहेको उनको भनाइ छ । महासचिव पोखरेलले एमालेको नेतृत्वको सरकारका पालामा धेरै जनमुखी कामको र एमाले सरकारबाट बाहिरिँदा विकासका काम समेत अलपत्र रहेको बताए ।

लोकतन्त्रमा जनताले नचाहेका पार्टीले शासन गरिरहेका कारण जनतामा निराशा पैदा भएको बताउँदै महासचिव पोखरेलले एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा अघि बढाउन सबै एक भएर लाग्नुपर्ने विचार व्यक्त गरे । उनले भने– नीतिका आधारमा जनताले पार्टी छनोट गर्नुपर्छ । एमाले बाहेक अन्य दलसँग मुलुक बनाउने नीति÷विचार छैन ।



प्रतिक्रिया दिनुहोस्