Logo

सुशासन कायम गर्न प्रमुख आयुक्त राईको कडा कदम, अख्तियारप्रति जनताको भरोसा बढ्दो



काठमाडौं, २९ माघ । अख्तियार दुरूपोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छन् । उनले सुशासन प्रवद्र्धनको लागि आयोगको नेतृत्व तहबाट एकपछि अर्को गरेर कडा कदम चालेका छन् । अहिले अख्तियारप्रति जनाको भरोस बढेको छ । अख्तियारले हिजो (आइतबार) ३३औं स्थापना दिवस मनाएको छ । सो अवसरमा प्रमुख आयुक्त राईले सदाचार पद्धतीको विकास र भ्रष्टाचारविरुद्धको शून्य सहनशिलताको नीतिलाई मूर्तरुप दिन सबैको सहयोग र सक्रियता जरुरी भएको बताएका थिए ।

मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि आयोगले खेलेको भूमिकालाई लिएर जनस्तरबाटै प्रशंसा हुन थालेको छ । यसअघि अख्तियारले सानो माछामात्रै समात्ने गरेको र ठूला माछालाई उन्मुक्ति दिने गरेको भनेर आरोप खेपेको थियो । तर, आयोगको प्रमुखको जिम्मेवारीमा राई आएपछि भने ठूला माछापनि समातिने क्रम बढ्दो छ ।

आयोगको गरिमा बढेको कुरा हिजो स्थापना दिवसमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त उपस्थितिले पनि पुष्टि गर्छ । आयोगको वार्षिकोत्सवमा भिभिआईपीहरुको उपस्थितिबारे प्रमुख आयुक्त राईले भनेका थिए–‘आयोगको स्थापना दिवसका अवसरमा विशिष्ट व्यक्तिको गरिमामय उपस्थितिले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धताका साथ अगाडि बढ्ने हाम्रो सङ्कल्पलाई अझ बलियो बनाएको छ ।”

यद्धपी राईले मुलुकमा सुशासनको अवस्थामा अपेक्षित सुधार हुन नसकेको गुनासो जनताको तहमा व्याप्त रहेको भन्दै यसप्रति सबै सक्रिय र जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखेका थिए । उनले भनेका छन्–“भ्रष्टाचारविरुद्धको लडाइँ आयोग एक्लैको मात्र होइन, यो एक बहुआयामिक विषय भएको हुँदा यसका लागि सामूहिक प्रयासको खाँचो छ । सुशासन स्थापनाका लागि हरेक नागरिक परिवर्तनको अभियान्ता बन्न सक्नुपर्दछ ।’’

सङ्घीयता कार्यान्वयनपछि हालसम्म तीनै तहका सरकारमा हुने विकास निर्माण, बजेट विनियोजन, अनुदान वितरण, सेवा प्रवाहजस्ता कार्यमा सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गर्ने, घुस/रिसवत लेनदेन गर्ने, गैरकानुनी लाभ लिने बदनियत राखेर काम गर्ने र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य सङ्ख्यामा उजुरीहरु आयोगमा पर्ने गरेको उनको भनाइ थियो । प्रमुख आयुक्त राईले सार्वजनिक जग्गाको दुरुपयोग बढेको, सरकारी जग्गा निजी प्रयोजनका लागि बिक्री गर्ने प्रवृति पाइएको भन्दै जिम्मेवार निकाय र पदाधिकारी सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कानुनी दायित्व निर्वाह गर्ने कार्यमा थप जिम्मेवार बन्नुपर्ने खाँचो औँल्याएका छन् ।

प्रमुख आयुक्त प्रेमकुमार राईले स्वास्थ्य, शिक्षालगायतका विषयगत क्षेत्रमा अनुदानको दुरुपयोग गरिएको बताएका छन् । ‘कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पशुपन्छीलगायतका विषयगत क्षेत्रमा अनुदानको दुरुपयोग गर्ने, नियम, कानुन, कार्यविधि, मापदण्ड र नागरिक वडापत्र पालना नगर्ने, सेवा प्रवाहमा बिचौलियाहरू प्रवेश गराई सेवा अवरुद्ध गराई मिलेमतो अनियमितता गर्ने आफूलाई तोकिएको कार्य समयमै पूरा नगर्ने, जिम्मेवारी र जवाफदेहिता नलिने, निर्णय नगरी थन्क्याएर राख्ने जस्ता प्रवृत्ति हरू देखिएका छन् ।’, अख्तियार प्रमुख राईले भने । सार्वजनिक खरिद तथा निर्माणको सन्दर्भमा प्रतिस्पर्धा सीमित गर्ने, विना प्रतिस्पर्धा सोझै खरिद गर्ने, आयोजनामा पूर्व सम्भाव्यता अध्ययन, आवश्यकता र औचित्यको पहिचान नगरी बजेट विनियोजन गर्ने, खरिद योजनाबिना नै खरिद कार्य गर्ने प्रवृत्ति रहेको उनको भनाइ छ । file photo



प्रतिक्रिया दिनुहोस्