जलेश्वर, फागुन २ । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाका अवसरमा यहाँका किसानले हलो र गोरुको पूजा गरेका छन्। किसानले आजको दिनलाई कृषि कार्यको सुरुआत मान्दै हलो र गोरुको पूजा गर्दछन्। किसानले आ-आफ्ना आँगनमा गाईको गोबरले लिपपोत गरेर, फूलमाला, अक्षता, अबिर, चामल, लड्डुलगायतका वस्तुसहित हलोको एवं गोरुलाई नुहाई नयाँ रंगीचंगी डोरी लगाएर पूजा पनि गरेका छन्।
जलेश्वर नगरपालिका- ८ का किसान आशनारायण मण्डलले हलो र गोरुको पूजा गरिसकेपछि खेतमा लगेर एकछिन खेतबारी जोत्ने चलन रहेको बताए। किसानले आजकै दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितको कृषि औजारलाई नयाँ धार लगाएर एकछिन प्रयोगमा ल्याउने गर्दछन्।
सरस्वती विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्न पनि शुभ मानिन्छ। रासस