काठमाडौं, फागुन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले आफ्ना र गठबन्धनका मान्छे जोगाउनका लागि मात्र भ्रष्टाचारका फाइल खोलेको दाबी गरेका छन् ।
संसद् भवनमा जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्ना वरिपरिका मान्छेलाई जोगाउने र निर्दोषलाई फसाउने खेलमा सरकार संलग्न रहेको आरोप समेत लगाए। उनले अब अन्य भ्रष्टाचारको फाइल खोल्ने भए आफू र आफ्नो पार्टीको सांसदहरूबाट सुरु गर्न चुनौती पनि दिए।
त्यस्तै, बालकुमारी घटनामा छानबिन समितिको प्रतिवेदनले दोषी देखाएको यातायात तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई बर्खास्त नगरेको भन्दै उनले आपत्ति जनाए।
उनले भने, ‘बालकुमारी घटनामा देशमा रोजागारीको अवसर नपाएर परिवार पाल्न विदेश जान लागेका दुई युवाहरूको गोली हानी हत्या गरियो र १० लाख दिएर सरकार चुप बस्यो। छानबिन समितिको प्रतिवेदनले मन्त्री नै दोषी रहेको पुष्टि भयो। तर, अहिलेसम्म न स्वयं मन्त्रीले नैतिकता देखाएर राजीनामा दिनुभयो, न प्रधानमन्त्रीले कुनै छनक देखाउनुभयो।’