काठमाडौं, ६ फागुन । दुई जना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई मुख्य दोषी देखाएको छ । सरकारले गठन गरेको जाँचबुझ आयोगले दोषी करार गर्दासमेत मन्त्री ज्वालाले राजीनामाको संकेत देखाएका छैनन् भने सरकारले बर्खास्त गर्ने तयारी समेत गरेको छैन ।
आज (आइतबार) प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्न आग्रह गरे । उनले सरकारले गठन गरेको छानविन समितिले दोषी देखाउँदासमेत मन्त्री ज्वालालाई बर्खास्त नगरेको भन्दै आपत्ति जनाए ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले पनि मन्त्री ज्वालाको राजीनामा मागे । मन्त्री ज्वालाको राजीनामा माग भएपछि सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिवेदन हेरेर आवश्यक कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।
‘छानविन समितिले जो प्रतिवेदन ल्याएको छ, गृह मन्त्रालयमा छानविन समितिले बुझाएको छ । आज मैले बुझ्दैछु । प्रधानमन्त्रीको हैसियतले अहिलेसम्म मैले हेरेको छैन । मैले गर्दैछु । आजै क्याविनेट छ । सरकारले बनाएको छानविन समितिले छानविन गरेर ल्याएको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारबाही गरिन्छ । म यो विश्वास दिलाउन चाहन्छु,’– उनले भने ।