लमजुङ, ६ फागुन । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी नदी छेउमै रहेको तातोपानी कुण्डको संरक्षण गरिने भएको छ । मस्र्याङ्दी गाउँपालिका–४ जगतको तातोपानी कुण्डको संरक्षण गर्न यहाँको गाउँपालिकाले चासो दिन थालेको छ ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले तातोपानी कुण्डलाई थप व्यवस्थित गदै प्रचारप्रसार गर्न सके पर्यटक आगमन हुने र ऐतिहासिक तातोपानी कुण्ड भएकाले यसको संरक्षणमा गाउँपालिका अघि बढ्न लागेको बताए । तातोपानी कुण्डको व्यवस्थापनका लागि गाउँपालिकाले पर्यटन क्षेत्रको बजेटमध्ये १४ लाख विनियोजन भएको छ ।
साथै तातोपानीको थप संरचना निर्माण गरी व्यवस्थापनका लागि सङ्घीय सरकारले रु छ लाख बजेट छुट्याएको उनको भनाइ छ । तातोपानी कुण्डको व्यवस्थापन गर्ने योजना अनुरुप गाउँपालिकाका अध्यक्ष गुरुङसहित उपाध्यक्ष जुनामाया थापा, वडा नं ४ का वडाध्यक्ष बलबहादुर गुरुङ, गाउँपालिकाका इञ्जिनियर सुरेश गौतमसहितको टोली केही दिनअघि तातोपानी कुण्डमा पुगेको थियो ।
कुण्डलाई थप व्यवस्थित गर्ने काम चाँडै अघि बढाइने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । एउटा ठूलो पोखरी र पिकनिकस्थल निर्माण र यसअघिको संरचनालाई थप व्यवस्थित गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
स्थानीय पर्यटन व्यवसायी गुरुङका अनुसार जगतको तातोपानी कुण्डमा दुई वटा पोखरी छन् । प्रतिपोखरी १५ देखि २० जनासम्म अटाउँछन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को ५० हजार र गाउँलेको श्रमदानमा विसं २०६८ मा एउटा पोखरी निर्माण गरिएको र त्यसपछि तत्कालीन सांसद जमिन्द्रमान घलेको सांसद कोषको दुई लाख बजेटमा अर्को पोखरी निर्माण गरिएको थियो ।
त्यस्तै पर्यटन बोर्डबाट प्राप्त पाँच लाख बजेट र स्थानीयवासीको श्रमदान गरी शौचायलय, लुगा फेर्ने ठाउँ, आराम गर्ने ठाउँ निर्माण गरिएको थियो । दुई वर्षअघि सो गाउँपालिकाले एक लाख ५० हजार बजेट र च्याम्बर र दुई वटा धारा निर्माण गरिएको थियो ।
गाउँपालिकाकै तीन लाख बजेटबाट रेलिङ र सिँढीसमेत निर्माण गरिएको स्थानीयको भनाइ छ । सो कुण्डमा चैत र कात्तिकमा नुहाउनेको भीड लाग्ने गर्दछ । यहाँ नुहाउँदा बाथ, छालारोग र हाडजोर्नी लगायतका रोग निको हुने जनविश्वास छ । पर्यटकीय याममा विदेशी पर्यटकहरु तातोपानीमा नुहाउने गरेको स्थानीयको भनाइ छ ।
यहाँका स्थानीय पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले यहाँ तातोपानी कुण्डमा बनाइएको भौतिक संरचना जीर्ण हुँदै आएको र यतिबेला गाउँपालिकाले यसलाई व्यवस्थित गर्न लागेकाले तातोपानी कुण्ड क्षेत्रको संरक्षण हुने र पर्यटन क्षेत्रमा पनि टेवा पुग्ने बताए । मस्र्याङ्दी नदी छेउमै रहेकाले बाढीले नबगाउने गरेर यसको संरचना बनाउनुपर्नेमा उनले जोड दिए । रासस