काठमाडौं, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को यो कार्यकालभरि नै यही सत्ता गठबन्धन कायम रहने दाबी गरेका छन् । पछिल्लो समय माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउने हल्ला चलेको बेलामा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले अहिलेको सत्ता गठबन्धनले नै देशलाई निकास र विकास दुवै दिने दाबी गरे ।
पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री दाहालले यस्तो स्पष्ट पारेका हुन् । उनले भने,‘अहिलेको गठबन्धन दायाँबायाँ हुँदैन् । यही गठबन्धन कायम रहन्छ । यसले संसद्को पूरा अवधि लिन्छ । देशलाई निकसा र विकास पनि यही गठबन्धनले दिन्छ ।’
यस्तै, प्रधानमन्त्री दाहालले कांग्रेसको महासमिति बैठकलगत्तै मन्त्रिपरिषद् पूनर्गठन गर्ने सुनाए । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल र सहमतिअनुसार कांग्रेसको महासमिति बैठकलगत्तै मन्त्रिपरिषद् पूनर्गठन गर्ने दाहालको भनाई छ । सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको अवसरमा जनताको नाममा सम्बोधन गर्ने क्रममा नै उनले मन्त्रिपरिषद् पूनर्गठन गर्ने घोषणा गरेका थिए ।
तर, गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले सहमति नदिँदा दाहाल रोकिएका थिए । पछिल्लो समय दाहालले मन्त्रिपरिषद् पूनर्गठन नगरे आफू गठबन्धनको विकल्प खोज्न पनि बाध्य हुने चेतावनी दिएपछि देउवा यसको लागि तयार भएको बुझिएको छ । तर, देउवाले महासमिति बैठकसम्म पर्खिन भनेपछि दाहाल रोकिएका हुन् ।
पत्रकार धमलासँगको कुराकानीमा प्रधानमन्त्री दाहालले भने–‘मन्त्रिपरिषद् पूनर्गठनको गृहकार्य भैसकेको छ । अब कांग्रेसको महासमिति बैठकलगत्तै गर्छु । गठबन्धनमा आवद्ध दलका नेताहरुसँग पनि छलफल भैसकेको छ ।’
प्रधानमन्त्री दाहाल अब हुने मन्त्रिपरिषद् पूनर्गठनमा अर्थ मन्त्रालय आफ्नो दलको भागमा पार्न आँतुर छन् । अहिलेका अर्थमन्त्री डा. प्रकाशशरण महतले असहयोग गरेको उनको गुनासो रहँदै आएको छ । अब मन्त्रिपरिषद् पूनर्गठन हुँदा कांग्रेसले गृह र माओवादीले अर्थ लिनेगरि समझदारी बनेको माओवादी नेताहरुको दाबी छ । माओवादीले अर्थ मन्त्रालय पाउँदा वर्षमान पुन त्यसको नेतृत्व गरेर जाने बुझिएको छ ।