लमजुङ, ९ फागुन । आफू बस्दै आएको घर दुई वर्षअघिको भूकम्पले ध्वस्त बनाइदिएपछि मस्र्याङ्दी गाउँपालिका–९ का ७८ वर्षीय बाबुराम कामीको शिरमाथिको छानो आकाश बनेको छ ।
अति दुःख गरेर बनाएको एउटा घर भूकम्पमा भत्काइदिएपछि सम्हालिन नसक्नेगरी मन कुँडियो । ‘जहाँ गहिरो, त्यही पहिरो’ भनेझै उनीमाथि एकपछि अर्को समस्या थपिँदै गयो । उनले भने, “दुःखीको भरोसा भगवान् हुन्छन् भनेर सहदै गएँ, मैले हिम्मत हारिनँ ।
प्यारालाइसिसले हातखट्टा राम्रोसँग नचल्ने र अलिअलिमात्र बोल्ने उनी र उनकी श्रीमती भूकम्पले भत्किएको घरमै जोखिम मोलेर बस्दै आएका थिए तर अहिले परिस्थिति परिवर्तन भएको छ । दुई छाक खान वृद्धाभत्ताको सहारा लिँदै आएका उनका लागि यतिबेला नयाँ घर पुनःनिर्माण भएर चाबी पाएसँगै मुहारमा खुसी छाएको छ ।
मस्र्याङ्दी गाउँपालिका–९, ८, ३ वडाका आर्थिक अवस्था कमजोर भएका बाबुरामजस्तै धेरै भूकम्प प्रभावितको मुहार उज्यालो भएको छ । उनका छिमेकीले पनि टहरोमा कष्टकर र डरैडरमा रात कटाउँदै आएकामा अहिले नयाँ घर पाएपछि खुसी लागेको बताएका छन् । भूकम्पपीडित तिलकबहादुर भण्डारी, गोमे कामी, टीकामाया भण्डारीलगायत विपन्न वर्गले घरसँगै जीविकोपार्जनका लागि सहयोग मिल्दा आफूहरूलाई धेरै सहज भएको बताएका छन् ।
लमजुङमा क्रियाशील ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) र क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) को साझेदारीमा लमजुङ पुनर्लाभ परियोजनाअन्तर्गत निजी आवास पुनःनिर्माण गरी गत आइतबार मस्र्याङ्दीका १७ भूकम्पपीडितको घर पुनःनिर्माण गरेर उनीहरूलाई हस्तान्तरण गरिएको छ ।
चालु आर्थिक वर्षमा निर्माण सकेको १७ घरका लागि आरसिडिसी सीआरएसले ९२ लाख ५३ हजार ४६ लगानी गरेको आरसिडिसीका अध्यक्ष राजेन्द्र बोहराले बताए । उनका अनुसार उक्त रकमबाट मस्र्याङ्दी गाउँपालिका–९ मा १३, ८ मा तीन घर र वडा नं ३ मा एक घर पुनःनिर्माण गरिएको छ ।
उक्त परियोजना हेर्ने इन्जिनियर रवि थापाका अनुसार जस्तापाताको छाना भएको दुईकोठे घर र शौचालय निर्माण गरिएको छ । साथै खानेपानी धारा घरघरमै लगिएको छ । निजी आवास पुनःनिर्माणका लागि आरसिडिसी र सीआरएसले प्रतिघर रु पाँच लाख ४५ हजार तीन सय ४९ का दरले लगानी भएको छ । साथै उक्त सङ्ख्यामध्ये १५ लाभग्राहीलाई जीविकोपार्जनका लागि १५ हजारका दरले सहयोग गरेको छ ।
त्यस्तै सो गाउँपालिका–९ ढाँडमा कृषि उब्जाउका लागि ढाँड सिँचाइ परियोजनाअन्तर्गत आरसिडिसी र सीआरएसले १३ लाख ४९ हजार तीन सय २३ बराबरको छ सय मिटर लामो सिँचाइ योजनासमेत निर्माण गरेको आरसिडिसीका अध्यक्ष बोहोराले बताए ।
उनका अनुसार यसबाट १६ घरधुरीका बासिन्दा लाभान्वित हुनेछन् । विसं २०७८ जेठ ५ गते बिहान मस्र्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्रविन्दु भएर पाँच दशमलव आठ रिक्टर स्केलको भूकम्प भएको थियो । भैँचालोबाट लमजुङका दुई हजार दुई सय घरमा क्षति भएको थियो ।
मस्र्याङ्दी गाउँपालिकाले विपन्नका ३० घर पुनःनिर्माणका लागि सिफारिस गरेकामा आरसीडिसी सीआरएसले गत वर्ष नौ घर र यो वर्ष १७ घर गरी २६ घर पुनःनिर्माण सम्पन्न गरेको छ । बेँसीसहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका गरी ५० घर पुनःनिर्माणको जिम्मेवारी यी संस्थाले लिएका छन् ।
सीआरएसका जिल्ला संयोजक कृष्णदेव जोशीले २०७२ वैशाख १२ गतेको भूकम्पपछि नेपालमा सिआरएस सक्रिय भएको र यो संस्थाको सहयोगमा हालसम्म ३२ हजार निजी आवास पुनःनिर्माण गरिएको बताए । उनका अनुसार लमजुङका तीन सय ५० परिवारलाई प्रत्यक्ष लाभ हुनेगरी सहयोगका कार्यक्रम सञ्चालन गरिएका छन् । रासस