Logo

गगनको कारण सिटौलालाई तनाव



काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रस्तावले सत्ता गठबन्धनमा भुईंचालो ल्याएको छ । महामन्त्री थापाले अहिलेको गठबन्धनलाई बाध्यतात्मक अवस्था भन्दै आगामी दिनमा कसैसँग पनि चुनावी गठबन्धन नगर्ने प्रस्ताव गरेका छन् । सो प्रस्तावलाई लिएर पार्टी पँक्तिमा उत्साह छाएको छ । तर, सभापति शेरबहादुर देउवा भने निराश छन् ।

गगनको प्रस्तावाले अहिलेको गठबन्धन भत्किने संकेत देखिएको भन्दै कतिपय नेताहरुले महासमिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा आक्रोश पोखिरहेका छन् । कतिसम्म भने यही फागुन २९ गते हुने राष्ट्रियसभाको अध्यक्षको निर्वाचनमा कांग्रेस निराश हुनुपर्ने अवस्थापनि गगनकै प्रस्तावको कारण आउनसक्ने नेताहरुको टिप्पणी छ ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुरुप राष्ट्रियसभाको अध्यक्ष कांग्रेसको भागमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले त राष्ट्रियसभाको अध्यक्ष कृष्णप्रसद सिटौलालाई बनाउने भनेर सहमति नै गरिसकेको विषय बाहिर आएको छ । राष्ट्रियसभाको निर्वाचनमा कोशीमा माओवादी उम्मेद्वार पराजित हुनु र अहिले गगनको प्रस्ताव यसरी आउँदा सिटौलाको मुखैमा आएको राष्ट्रियसभाको अध्यक्षको पदपनि गुम्ने खतरा रहेको कांग्रेस नेताहरुको दाबी छ ।

महासमिति बैठकमा सिटौला निराश देखिनुको कारणपनि यही भएको कतिपयको भनाई छ । संसदीय चुनावमा लगातार असफलता व्यहोरेका सिटौला आफ्नो राजनीतिक जीवनको उत्तराद्र्धमा राष्ट्रियसभाको अध्यक्ष बनेर संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न चाहन्छन् ।

तर, कुनै समय आफूले नै संरक्षण गरेर पार्टीको राजनीतिक जीवनमा सफलताको शिखरमा पुर्याएर नेतृत्वको हैसियत बनाईदिएका गगनले नै आफूलाई यसरी अप्ठ्यारो पार्छन् भनेर उनले सोचेका पनि थिएनन् । पछिल्लो समय गगन सिटौला समूहबाट अलग भएर शेखर कोइराला समूहमा सक्रिय थिए ।

संसदीय दलको नेताको निर्वाचनमा सभापति शेरबहादुर देउवासँग प्रतिष्पर्धा गर्दासम्म गगन शेखर समूहमा सक्रिय थिए । तर, पछि पराजित भएपछि भने उनको अहिले शेखरसँगपनि सम्बन्ध चिसिएको छ। file photo



प्रतिक्रिया दिनुहोस्