काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता विष्णु रिजालले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरु झण्डा हल्लाएर अख्तियारमा बयान दिन गएको र आनन्दले पदमा बसिरहँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन कायम गर्छु भन्दा कसले पत्याउँछ ? भनेर प्रश्न गरेका छन् ।
रिजालले फेशबुकमार्फत उनले स्वास्थ्यमन्त्री मोहन बस्नेतको विषय उठाएर भ्रष्टाचारमा मुछिएको भनेका छन् । उता, बालकुमारी घट्नामा छानबिन आयोगबाट दोषी ठहर गर्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही नगरेको विषय पनि रिजालले उठाएका छन् ।
उनले लेखेका छन्–‘यो त लाजको पनि पराकाष्टा भएन र ? एउटा मन्त्री झण्डा हल्लाएर भ्रष्टाचारको मुद्दामा अख्तियारमा बयान दिन्छ र आनन्दले पदमा बसिरहन्छ । अर्को मन्त्रीलाई सरकारले नै बनाएको आयोगले दोषी ठहर गर्दा पनि कुनै मतलब छैन । अनि तिनै मन्त्रीहरुका अगुवा प्रधानमन्त्री भन्छन्, ‘सुशासन कायम गर्छु, भ्रष्टाचार निर्मूल गर्छु ।’ कसले पत्याउँछ यस्तो कुरा ?’