राँझा (बाँके), २० फागुन । नेपालगञ्ज उपमहानगरपालिकाको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा पक्की सडक बन्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् ।
भारतसँग जोडिएको नेपालगञ्जको वडा नं १५ पिप्रहवा र वडा नं १६ जयसपुरमा हालसम्म पक्की सडक निर्माण भएको छैन । उपमहानगरपालिकाले जमुनाह र जयसपुरगाउँमा पक्की सडक निर्माणको काम सुरु गरेपछि खुसी लागेको स्थानीय कैलाश यादवले बताए । “हाम्रो वडाका भित्री सडक अहिलेसम्म पक्की भएको छैन, अब भने बन्ने आशा जागेको छ”, यादवले भने, “पक्की सडक नहुँदा वर्षाका बेला हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्था रहेको छ ।”
नेपालगञ्ज–१५ स्थित जमुनाहा गाउँमा मुख्य सडक सुर्खेत रोडदेखि जमुनाहा गाउँसम्म पुग्ने दुई सय २० मिटर लामो सडकमा कालोपत्र गर्ने कार्य सुरु भएको उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए । आगामी जेठ १५ गतेभित्र काम सक्ने गरी एएनडी कन्स्ट्रक्सन ग्रुप बाँकेले ठेक्का पारेको छ । ४७ लाख ८८ हजार लागतमा सडक बत्ती जडान, सडक स्तरोन्नति तथा नालामा ढक्कन हाल्ने काम सम्पन्न हुने उपमहानगरपालिकाका इञ्जिनियर प्रदीपकुमार हरिजनले जानकारी दिए ।
पक्की सडक निर्माणसँगै ४० खम्बामा सडक बत्ती जडान, माटो पटान तथा नालामा ढक्कन हाल्ने योजनाको सुरुआत भएको वडा नं १५ का वडाध्यक्ष मदनविक्रम शाहले बताए । उनले साविकको पिप्रहवा गाविस रहेको वडा नं १५ भौगोलिकरुपमा ठूलो वडा भएकाले पूर्वाधार विकासमा बजेटको अभाव हुने भएकाले जनताको चाहनाबमोजिम काम हुन नसकेको बताए ।
यसैगरी भारतीय सीमा क्षेत्रसँग जोडिएको उपमहानगरपालिका–१६ जयसपुरमा मुख्य सडक जोड्ने फराकिलो पक्की सडक निर्माण प्रक्रिया सुरु भएको छ । जयसपुरस्थित अब्दुल रहमानको घरदेखि पचपोखरा जाने बाटोसम्म पक्की सडक बन्ने भएपछि स्थानीयमा खुसियाली छाएको छ ।
यो सडक निर्माण सम्पन्न भएसँगै जयसपुरवासीलाई मुख्य सडकसम्म पुग्नका लागि सवारी आवतजावतमा सहज हुनुका साथै जयसपुरको मुहार परिवर्तन हुने वडाध्यक्ष कलीम अहमद जोलाहले बताए । वडाध्यक्ष जोलाहको विशेष पहलमा वडामा पक्की सडक बन्ने भएपछि वडावासी खुसी भएको वडासचिव तेजबहादुर सिंहले बताए ।
“जयसपुरमा अहिलेसम्म साँघुरा सडक भएका कारण वडावासीलाई मुख्य सडकसम्म पुग्न समस्या रहेको छ”, उनले भने, “अब यो सडक बनेपछि जयसपुर गाउँभित्रैसम्म ठूला सवारीसाधनको सहजै आवागमन हुनेछ र त्यसले यहाँको समग्र विकासमा प्रभाव पार्नेछ ।”
९० लाखको लागतमा सडक निर्माण काम सुरु भएको छ । उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले जयसपुरको विकासमा यो सडकले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सडकको गुणस्तरीयता र समयमै काम सम्पन्न गर्नका लागि सबै वडावासीले ध्यान दिनुपर्नेमा जोड दिए । रासस