काठमाडौं, फागुन २१ । सत्तारूढ गठबन्धनको बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास वालुवाटारमा अहिले बिहान ८ बजे बस्न लागेको बैठकमा सत्तारूढ गठबन्धन, टीआरसी विधेयक, राष्ट्रियसभाका भावी अध्यक्ष तथा सरकारका मन्त्रीहरू हेरफेरलगायतका बिषयमा छलफल हुने जनाइएको छ।
पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताबीच प्रधामन्त्री दाहालले गरेको राजनीतिक भेटवार्ता र संवादले त्यसलाई अझ तरंगित बनाउँदै लगेको छ। गठबन्धन भित्रको वर्तमान अवस्था र मन्त्रिमण्डल पुनर्गठनका विषयमा कुरा गर्न प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलको तर्फबाट बनेका मन्त्रीहरुलाई निवास बुढानिलकण्ठमा बोलाएर छलफल गरेका थिए।
यसैबिच परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण समेत एकाएक रद्द भएको छ । परराष्ट्र मन्त्रालयले विशेष परिस्थितिको कारण देखाउँदै भ्रमण स्थगित भएको जनाएको छ । राष्ट्रियसभाको अध्यक्षको लागि २९ फागनुमा हुने निर्वाचनमा उम्मेद्वार टुँगो लगाउने विषयमा कांग्रेस र माओवादी केन्द्रबीच सुरु भएको खटपटलाई चासोका साथ हेरिएको छ ।
अहिलेका मन्त्रीहरुको कार्यसम्पादनमा असन्तुष्ट रहेकाले प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने पक्षमा छन् भने यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएका छन् ।
त्यस्तै, राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुनसक्ने समेत राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ । यहीबीचमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच तारन्तार भेटवार्ता भएको विषयलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।