Logo

प्रतिक्रियावादीले उपयोग गर्न खोजे भने म कुनैपनि बेला लात्ताले हानेर निस्किन्छु : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रतिक्रियावादीहरुले उपयोग गर्न सक्ने पात्र नभएको बताएका छन् । उनले प्रतिक्रियावादी शक्तिहरुले आफूलाई अनप्रेडिक्टेवल भनेपनि आफू उपयोग हुने पात्र नभएको भन्दै उपयोग गर्न खोजे कुनैपनि बेला लात्ताले हानेर निस्किने गरेको सुनाए ।

शहिद प्रतिष्ठान नेपालद्धारा आयोजित शहिद सप्ताहको समापन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आफू नमर्दासम्म नेपालमा उथलपुथल हुने पनि दाबी गरे । उनले भने,‘आज एकचोटी नयाँ ध्रवीकरण, नयाँ उथलपुथल भएको दिनपनि बन्यो । माओवादी जहिल्यैपनि सिद्धान्त र व्यवहार दृष्टिकोणले जमेको पोखरीजसतो होईन, गड्गडाउँदो खोला र नदीजस्तो हो । यो निरन्तरतामा रमाएर स्थिरतामा बस्दैनन् । माओवादी निरन्तरतामा क्रमभंगता गर्दै नयाँ सिर्जना गर्ने जात हो ।’

उनले आफूहरु माओवादीहरु नेपाल राष्ट्र र नेपाली जनताको घोडा भएको पनि सुनाए । भारतीय पूर्व जनरल अशोक मेहताको लेखबारे धर्मेन्द्र बास्तोलाले गरेको टिप्पणीप्रति लक्षित गर्दै प्रचण्डले यस्तो जवाफ फर्काएका हुन् । उनले भने,‘अरु कसैको होईन, म नेपालको घोडा हो । यसमा तपाईंले लालसलाम भन्न सक्नुपर्दथ्यो । एक हप्ताभित्रै नबित्दै यस्तो निर्णय गरेकोमा भनेर, यो सानो कुरा होईन । धेरै ठूलो कुरा हो । यसलाई बुझ्न जरुरी छ । आजको दिन सबै क्रान्तिकारी एक ठाउँमा आवश्यक छ । खिईँदै, सुक्दै, एक्लो हुँदै अनि ठूलो–ठूलो कुरा गरिराख्ने, यो नहुने बुद्धितिर नलागौं । विप्लव उठ्नेबित्तिकै एउटा तरंग पैदा हुन्छ । म त म नै भैहालें । म नमर्दासम्म देशमा उथलपुथल भैराख्छ । मलाई घेरा हालेर सिध्याउने धेरै कोशिस भए । घेरा तोड्दै आएका छौं, अनि तोड्दै जान्छौं । ठूला कुरा गर्नुभन्दा हामी क्रान्तिकारी सबै एक ठाउँमा हुने बाटो खोजौं । त्यो नै क्रान्तिकारी हुन्छ । वैज्ञानिक हुन्छ ।’

उनले आफूले सरकारको नेतृत्वमा हुँदा जनयुद्ध दिवस मनाउने निर्णय गराएको पनि स्मरण गराए । उनले भने,‘जनयुद्ध दिवस मनाएँ । राष्ट्रिय शहिद घोषणा गर्दैछौं । समाजवादी मोर्चा मात्रै होईन, बृहत्त कम्युनिष्ट एकता गर्छौं । हामी जिवित रहँदासम्म उनीहरुको सपना । दुश्मनका तमाम घेराबन्दी । क्रान्तिको बाटो सोझो छ ? दुनियाँमा कुनै बाटो सोझो छ ?’ उनले राजनीतिमा कहिले दायाँ र बायाँ खुट्टाले हिँड्नुपर्छ भन्ने टिप्पणी गरे । उनले भने,‘दायाँ र बायाँ दुवै खुट्टाले हिँड्ने हो ।’

मलाई र आफू नेतृत्वको आन्दोलनलाई प्रतिक्रियावादीले अविश्वनीय र अनप्रेडिक्टेवल भन्ने गरेको पनि स्मरण गराए । उनले भने,‘म बुझ्नै नसकिने मान्छे होईन । नेपाल राष्टप्रति प्रेडिक्टेवल छु । प्रतिक्रियावादीले उपयोग गर्न खोजे भने म कुनैपनि बेला लात्ताले हानेर निस्किन्छु । म राष्ट्र र जनताप्रति नै हो । हामी सबैले मेहनत गरौं । एकतावद्ध होउ, नफुटौं ।’

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्