Logo

संसदीय दलमा देउवाको ब्रिफिङ: प्रचण्डले धोका दिए, धोकेबाजको औषधि छैन



काठमाडौं,२४ फागुन । नेपाली कांग्रेसको संसदीय दलको बैठक सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरुलाई संक्षिप्त सम्बोधन गरेका छन् ।

संक्षिप्त सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई अनायसै धोका दिएको गुनासो गरेका छन् । संक्षिप्त सम्बोधन गर्दै देउवाले भने ‘प्रचण्डले धोका दिए, धोकेबाजको औषधि छैन,’ ।

कांग्रेसको आज बसेको बैठकले प्रचण्डले दिएको धोका राजनीतिक बेइमानी भएको प्रमुख सचेतक रमेश लेखकले बताए । त्यस्तै बैठकले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिएको जानकारी संसद्मा गराउने पछि निर्णय गरेको लेखकले बताए ।

उनले भने, ‘प्रचण्डले विश्वास घात गरेर गठबन्धन तोडे । काल्पनिक कपोलकल्पित तथा कथित कारण देखाउनुभयो । हामीले यसलाई राजनीतिक बेइमानीका रूपमा लिएका छौँ । हामीले सहमतिहरू पालना गर्दै गयौँ । उहाँले अविश्वसनीय ढंगले गठबन्धन भत्काउनु भयो । गठबन्धन भत्काएर मुलुकलाई अनिश्चितता तर्फ लग्नुभयो ।’

गत सोमबार प्रधानमन्त्री दाहालले कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाएका थिए। नयाँ समीकरणबाट बुधबार २० सदस्यीय मन्त्रिपरिषद पुनर्गठन पनि भइसकेको छ।



प्रतिक्रिया दिनुहोस्