Logo

विश्वासको मत लिन आँतुर प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले आज/भोलिभित्रै पूर्णता पाउँदैछ । यसअघि नयाँ गबठन्धनमा सामेल भैसकेको उपेन्द्र यादव नेतृत्वको जसपापनि दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने निश्चित् भैसकेको छ । जसपाका अध्यक्ष यादव आँफै उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने बताईएको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा अहिले एमाले, माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादी छन् । जसपा पनि मिसिएपछि सरकारमा पाँच दलको सहभािगता हुनेछ । प्रधानमन्त्री दाहाललाई कांग्रेसले दिएको समर्थन फिर्ता लिने निर्णय भैसकेको छ । अब प्रधानमन्त्री दाहालले एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्छ । त्यसको लागि दाहालले आन्तरिक छलफल थालिसकेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आजै साँझ भेटवार्ता गरेर विश्वासको मत कहिले लिने भन्नेबारे छलफल गर्ने बुझिएको छ । एमालेले नयाँ गठबन्धन बनेपछिको राजनीतिक परिस्थितिबारे मूल्यांकन गर्न आज सचिवालय बैठकमा छलफलसमेत गरिसकेको छ ।

एमालेले नयाँ गठबन्धनको सरकारलाई साथ दिन अरु दललाई पनि आह्वान गरेको छ । प्रधानमन्त्री दाहालले जसपाबाट दुई मन्त्री र एक राज्यमन्त्रीको सपथ भएलगत्तै विश्वासको मत लिनको लागि मिति तय गर्न सत्ता गठबन्धनका साझेदार दलहरुसँग छलफल गर्नेछन् । दाहालले आगामी सोमबार सत्ता साझेदार दलहरुसँग यसबारेमा छलफल गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।

दाहालले विश्वासको मत लिनको लागि नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेतृत्वलाई पनि विश्वासमा लिन खोजिरहेका छन् । यी दुई दल प्रदेश सरकारको लागि निर्णायक शक्ति भएको हुँदा प्रदेश सरकारको नेतृत्वमा आलोपालो वा सरकारमा सम्मानजनक उपस्थितिबारे छलफल भएकोले समझदारीमा पुग्न सकिने प्रधानमन्त्री दाहालको विश्वास छ ।

नागरिक उन्मुक्ति पार्टीले सुदुरपश्चिमको मुख्यमन्त्री मागेको छ भने जनमतले मधेश प्रदेशको । तर, योबीचमा यी दुवै दलका अध्यक्षहरु रेशम चौधरी र सिके राउतले भने अर्को गठबन्धन बनाउन पहल थालेका कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन् । संसद्मा पनि राउतको प्रस्तुति नयाँ सत्ता गठबन्धनसँग सहकार्य नगर्ने खालको छ । file photo



प्रतिक्रिया दिनुहोस्