काठमाडौं, फागुन २७ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दैछ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो पौने ३ बजे बस्ने बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार, प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने मिति तोक्ने विषयमा छलफल हुने जनाइएको छ ।
यहीँ फागुन १६ गते बुधबार बसेको पार्टीको स्थायी समिति बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (एमाले), रास्वपा र जसपासहितको नयाँ गठबन्धनको साथबाट प्रधानमन्त्रीमा निरन्तरता पाएका दाहाल फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन्।
शनिबार बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सरकारले विश्वासको मत लिने विषयमा सहयात्री दलसँग छलफल गरेर आवश्यक निर्णय लिइने बताएका थिए । कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो ।
संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ । संसदीय दलको हिजो बसेको बैठकले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा उपस्थित हुन राष्ट्रिय सभामा रहेका आफ्नो दलका सदस्यहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ ।