काठमाडौं, फागुन २७ । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षको उम्मेदवारको टुंगो लगाउन आज पदाधिकारी बैठक बोलाएको छ । राष्ट्रियसभामा माओवादी सबैभन्दा ठूलो दल माओवादी केन्द्रले आज साँझ ५ बजे बालुवाटारमा बस्ने गरी पदाधिकारी बैठक बोलाएको हो ।
माओवादीले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने नयाँ सत्ता समीकरणको सम्झौता अनुसार आज बस्ने पदाधिकारी बैठकले छलफल गरेर उम्मेदवारको नाम टुंग्याउने तयारी रहेको छ । यसअघि फागुन १६ गते बसेको पार्टीको स्थायी समिति बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।
अध्यक्षको उम्मेदवारमा माओवादीबाट हालकी उपाध्यक्ष उर्मिला अर्याल तथा सदस्यहरु झक्कुप्रसाद सुवेदी र नारायण दाहालको नाम चर्चामा छ। संसदीय दलको हिजो बसेको बैठकले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा उपस्थित हुन राष्ट्रिय सभामा रहेका आफ्नो दलका सदस्यहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ ।
यता, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभाको संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभामा संसदीय दलको नेता चयन गरेका हुन् । सिटौला भर्खरै सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा निर्वाचित भएका हुन् । राष्ट्रिय सभाको अध्यक्षका आकांक्षी रहेका सिटौला सत्ता गठबन्धनमा आएको फेरबदलले सम्भावना टरेको छ । राष्ट्रिय सभामा वर्तमान सत्ता गठबन्धनको बहुमत रहेको छ ।
राष्ट्रिय सभामा माओवादी केन्द्र राष्ट्रिय सभाको ठूलो पार्टी हो । माओवादीका राष्ट्रिय सभामा उपाध्यक्षसहित १७ सांसद छन् । दोस्रो दल कांग्रेसका १६ सांसद छन् । त्यस्तै, एमालेका १०, एकीकृत समाजवादीका ८ र जनता समाजवादी पार्टीका ३ सांसद छन् ।
राष्ट्रिय सभामा लोसपाका १, राष्ट्रिय जनमोर्चाका १ र मनोनित २ सांसद रहेका छन् । राष्ट्रिय सभामा वामदेव गौतम र नारायण दाहाल मनोनित सांसद हुन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल फागुन २० मा सकिएको थियो ।
नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (एमाले), रास्वपा र जसपासहितको नयाँ गठबन्धनको साथबाट प्रधानमन्त्रीमा निरन्तरता पाएका दाहाल फागुन ३० गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारीमा छन्।