काठमाडौ, २७ फागुनः नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनले भेटवार्ता गरेका छन् ।
मन्त्रालयमा आज (आइतबार) भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको थियो ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा लगानीमैत्री वातावरण भएको उल्लेख गर्दै आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानी भित्र्याउनका लागि आग्रह गरे। साथै राजदूत थम्सनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए ।
राजदूत थम्सनले आजै अर्थमन्त्री वर्षमान पुनसँग पनि भेटवार्ता गरेका थिए । सो भेटवार्तामा राजदूत थम्पसनले नेपालको शान्ति प्रक्रिया टुँगो लगाउने विषयमा अमेरिकाको सहयोग रहने विश्वास दिलाएका थिए । यस्तै, मन्त्री पुनले भने बैशाखमा हुने भनिएको लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताहरुलाई ल्याउनको लागि आग्रह गरेका थिए ।