काठमाडौं, फागुन २९ । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पिएनजी) विरुद्धको खेलमा नेपाली ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । उनले ३२ बलमा चार चौका र तीन छक्कासहित अर्धशतक पूरा गरेका हुन् ।
कुशलले अन्तिम बलमा छक्का हिर्काउँदै सानदार तरिकाले अर्धशतक पूरा गरे । टी–२० आईमा उनको यो आठौँ अर्धशतक हो । पिएनजीविरुद्धको जारी खेलमा नेपालले तेस्रो विकेटको रूपमा आरिफ शेखलाई ४ रनमा गुमायो ।
उनलाई ९.३ ओभरमा पिएनजीका कप्तान असद भालाले विकेटकिपरबाट क्याच आउट गराए । नेपाल दोस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमाउन पुग्यो । उनी ८.१ ओभरमा नोसैना पोकनाको बलमा एक रनमै आउट भए ।
नेपालले पहिलो विकेटको रूपमा ७.३ ओभरमा विनोद भण्डारीलाई गुमायो । उनले आज २२ बलमा दुई चौका र एक छक्कासहित २७ रनको पारी खेले । विनोदले जारी हङकङ भ्रमणका क्रममा गत शनिबार हङकङविरुद्ध ४२ रन बनाएका थिए । नेपालले आज टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।