काठमाडौं, फागुन ३० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्। सङ्घीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ ।
यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आजको बैठकका लागि सम्भावित कार्यसूचीका रूपमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषय समावेश गरेको छ ।
“प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभामा विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावमाथि छलफलपश्चात निणयार्थ प्रस्तुत गरिने” कार्यसूची तय गरिएको छ ।