काठमाडौं,१ चैत । कोशी प्रदेश सरकार जोगाउन मुख्यमन्त्री केदार कार्की लगायतका नेताहरु सक्रिय बनेका छन् । सत्ता समीकरण फेर बदल भएसँगै कोशी सरकार पनि फेरिनेक्रममा रहेको छ ।
केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै संकटमा परेको सरकारलाई जोगाउनेबारेमा छलफल गर्न मुख्यमन्त्री कार्कीसहितका नेताहरु पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पुगेका छन् । देउवाले उपसभापति, महामन्त्री, प्रमुख सचेतक र कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरेका हुन् ।
सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की २७ असोजमा कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले १ कात्तिकमा विश्वासको मत लिँदा राप्रपाका ६ सांसद बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले विश्वासको मत दिएका थिए । उनीहरुको विश्वासको मत अहिले पनि कायमै छ ।
९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । नयाँ सत्ता गठबन्धनमा रहेका एमालेसँग ४०, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ गरी जम्मा ५८ सांसद छन् । त्यसैले कोशीमा एमाले-माओवादीसहितको गठबन्धनको सरकार सजिलै बन्नसक्छ । यता प्रतिपक्षीमा रहेका नेपाली कांग्रेसको २९ र राप्रपाका सभामुखसहित ६ सांसद रहेका छन् ।
अंकगणीतका आधारमा प्रदेश सरकार सजिलै परिवर्तन हुने देखिएपनि संवैधानिक संकटकाच कारण दलहरु आन्तरिक छलफलमा व्यस्त छन् ।