Logo

संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै



काठमाडौं, चैत ५ । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार पारेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै छ ।

सरकारमा सहभागी पाँच राजनीतिक दलले बनाएको कार्यदलले तयार पारेको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ’लाई बुझाइसकेको छ । शनिबार १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो । कार्यदलले बुझाएको मस्यौदामा शीर्ष नेताहरूले छलफल गरेर आज सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।

कार्यदल संयोजक एवं एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार न्यूनतम साझा कार्यक्रममा संविधानको कार्यान्वयन र रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम जनतामा आशा र विश्वास जगाउने, सार्वभौमसत्ता र स्वाधीनताको रक्षा गर्ने तथा समग्रमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने लगायतका विषय प्राथमिक्तामा राखिएको छ ।

न्यूनतम साझा कार्यक्रम बनाउन एमालेबाट उपाध्यक्ष पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट राजेन्द्र श्रेष्ठ र मनिष सुमन रहेको १० सदस्यीय कार्यदल बनाइएको थियो।



प्रतिक्रिया दिनुहोस्