धादिङ, चैत ६ । जंगलमा सल्केको डढेलो निभाउने क्रममा लडेर धादिङमा एक जानको मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिणी धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–२ ताल्ती निवासी ५२ वर्षीय खाम बहादुर थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
मृतक थापा मगर भालुखोप भन्ने स्थानको रातामाटे जंगलमा डढेलो सल्केपछि निभाउने क्रममा लडेर घाईते भएपछि स्थानीयले उद्दार गरेको र उपचारका क्रममा निजको मृत्यु भएको प्रहरीले बताएको छ ।
मृतक थापा डढेलो निभाउने क्रममा लड्दा करिव बीस मिटर तल खसेको प्रहरीको भनाई छ । मृतक थापासहित सो क्षेत्रका स्थानीय गाउँमा डढेलो नपसोस् भन्नका लागि डढेलो निभाउने गरेको खुलेको छ ।