काठमाडौं, ६ चैत्र । सुन तस्करी प्रकरणमा सिआईबीले पक्राउ गरेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टीले कारबाही गर्ने भएको छ । प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहालले महरालाई यो वा त्यो बहानामा पार्टीमा राखिरहन नहुने भन्दै अब पार्टीबाटै गलहत्याउनुपर्ने तयारी गरेका छन् ।
प्रचण्डले पार्टीलाई बदनाम गराउने व्यक्तिलाई अब कुनै स्थान नहुने पनि टिप्पणी गरेका छन् । प्रहरी नियन्त्रणमा परेकै दिन महरा स्वास्थ्य अवस्था देखाएर नर्भिक अस्पताल भर्ना भएका छन् । महरा पक्राउ परेपछि कारबाही गर्नको लागि अध्यक्ष प्रचण्डले आज बालुवाटारमा पदाधिकारी बैठक डाकेका थिए ।
सो बैठकमा अधिकांश पदाधिकारीले महरालाई कारबाही गर्नुपर्ने धारणा राखेका थिए । त्यही क्रममा प्रचण्डले महरालाई तत्काल राजीनामा दिन निर्देशन दिएका थिए । नत्र आफूले पार्टीबाटै निश्काषन गरिदिने चेतावनी दिएको स्रोतको दाबी छ । महराले एक घण्टाभित्र जवाफ दिन्छु भनेको बताईएको छ ।
सुन तस्करी प्रकरणमा महरामात्रै नभएर उनका छोरा राहुल पनि पक्राउ परेका छन् । सुन तस्करी गिरोहसँग महरा बाउ–छोराको अस्वभाविक सम्पर्क रहेको कुरा मिडियामार्फत फोन सम्वादका समाचार बाहिरिएका छन् । file photo