काठमाडौं, ६ चैत्र । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफू काम गर्न आएको भन्दै काम गरेर देखाउने बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजीनामा मागिरहेको बेलामा गृहमन्त्री लामिछानेले राजीनामा नभएर काम गर्ने जवाफ दिए । प्रतिनिधिसभाको आज (मंगलबार) बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेसलाई चार वर्ष संसद अवरुद्ध गर्न पनि चुनौती दिए । गृहमन्त्री लामिछानेले संसद अवरोध गर्ने र संसदीय समितिको माग गर्ने कुरा कांग्रेसको अधिकारको कुरा भएको स्पष्ट पारे । मन्त्री लामिछानेले भने,‘माग गर्ने कुरा एउटा छ, अब कुन ढंगले जान्छ हेर्दै जाउँ । म राजीनामा होइन काम गर्छु ।’ उनले कांग्रेसल दूधले नुहाएको पार्टी नभएको पनि टिप्पणी गरे ।
उनले भने,‘यस्तो अभ्यास सिकाउन खोज्ने हो भने यसमा अडिइरहनका लागि म कांग्रेसलाई अनुरोध गर्छु । कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन भन्ने जनताले बुझेका छन् । हामीले कामले जवाफ दिने हो । म भन्छु कांग्रेसले चार वर्ष संसद अवरुद्ध गरोस् । हाम्रो संयन्त्रले चार वर्ष काम गरोस । देशमा अनियमितता गर्ने र अनुसन्धानलाई प्रभावित गर्ने, अनुसन्धान गर्दागर्दैका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने ? सुशासनको कुरा गर्ने ? चार वर्ष अवरुद्ध गरोस् । चार वर्षपछि यसैगरि अवरुद्ध भइरह्यो र यो संयन्त्रले मजाले काम गर्न पायो भने चार वर्षपछि के थाहा, धेरै मान्छे सदनमा हुँदै हुने छैनन् ।’ file photo