Logo

अझै तीन दिन पानी पर्ने, यी दुई प्रदेशमा हावा–हुरीको सम्भावना



काठमाडौं, चैत ८ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारण देखि अधिकांश बदली, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानूमान महाशाखाका अनुसार अहिले कोशी , मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा छिटपुट वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

त्यस्तै, आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्