बागलुङ, ८ चैत । आन्त्रिक पर्यटन प्रवर्द्धन गर्न बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । बुधबार दुई स्थानीय तहका प्रमुखहरूले भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
विश्व सम्पदामा सूचीकृत विश्व शान्तिक्षेत्र, धार्मिक एवं पर्यटकीय नगरी लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी प्रदेश र धार्मिक एवं पर्यटकीय नगर बागलुङ नगरपालिकाबीच पर्यटन प्रवद्र्धन, असल अभ्यास र अनुभव आदानप्रदानका लागि भगिनी सम्बन्ध कायम गरिएको समझदारीपत्रमा उल्लेख छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । भगिनी सम्बन्ध स्थापना गर्न नगरप्रमुख मुसलमान, उपप्रमुख कल्पना हरिजनसहितका जनप्रतिनिधि र कर्मचारी बागलुङ नगरपालिका आएका थिए ।
भगिनी सम्बन्ध स्थापनाबाट दुई नगरपालिकाबीच कला तथा संस्कृतिको आदानप्रदान गर्न सहयोग पुग्ने बताउँदै बागलुङ नगरपालिकाका प्रमुख श्रेष्ठले असल अभ्यासको आदान प्रदान र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान हुने उल्लेख गरे।
नगरप्रमुख मुसलमानले भगवान् गौतमबुद्धको जन्मभूमि नगरपालिका र धार्मिक हिसाबले पवित्र तपोभूमिका रुपमा रहेको बागलुङ नगरपालिकाको कलासंस्कृति, भाषा, वेशभूषासँगै अनुभव आदानप्रदान गर्न समझदारीबाट योगदान पुग्ने विश्वास व्यक्त गरे।
त्यस अवसरमा बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीले शुभकामना मन्तव्य व्यक्त गरे । दुवै स्थानीय तहका नगरप्रमुखको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको स्वागत तथा प्रशासन शाखाप्रमुख भीमसेन पन्तको सञ्चालनमा भएको थियो । रासस