काठमाडौं, चैत ८। फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र बहराइनबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समयअनुसार राति पौने १ बजे बहराइनको राष्ट्रिय रङ्गशालामा हुनेछ । यो खेल नेपालमै हुने तय भएकोमा दशरथ रङ्गशाला मैदान खेल्नका लागि उपयुक्त नभएपछि बहराइनमा हुन लागेको हो । पहिलो चरणको खेलमा नेपाल लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको थियो। नेपालले अर्को खेल मंगलबार बहराइनमै खेल्ने छ ।
समूह ‘एच’ मा रहेको नेपालले सुरुवाती दुई खेल गुमाइसकेको छ। नेपाल युएई र यमनसँग पराजित भइसकेको छ । यो समूहमा नेपाल, बहराइन, यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।