Logo

नेपाललाई शतप्रतिशत भ्रष्टाचारमुक्त बनाउन अमेरिकाजस्तो राष्ट्रपतीय शासन अनिवार्य छ : जय साह (भिडिओसहित)



काठमाडौं, १० चैत्र । नेपाललाई विश्व गुरू बनाउने अभियानमा रहेका जय साहले दाईजो प्रथा हटाउन र भ्रष्टाचार अन्त्य गर्न स्मार्ट करेन्सीको पाईलट प्रोजेक्टको लागि सरकारसमक्ष सहयोगको अपेक्षा राखेका छन् । विगत डेढ दशकदेखि अमेरिकामा बस्दै आएका साहले यसअघि कल्किष्ट मेनिफेस्टोसमेत सार्वजनिक गरिसकेका छन् । उनले यसलाई वैदिक इकोनोमिक कन्सेप्टको समेत संज्ञा दिएका छन् ।

साहले नेपालमा नयाँ जातिय व्यवस्था बनाउने अवधारणासमेत पुस्तकमा समावेश गरेका छन् । जलवायु परिवर्तन, एन्टिबायोटिक रेसिस्टेन्सी, दाइजो प्रथा, आर्थिक बोझका कारण नेपालमा वर्षेनि ६ हजारभन्दा बढिले आत्महत्या र अकाल मृत्युवरण गर्ने गरेको तथ्यांकसमेत सार्वजनिक गरेका छन् । यसलाई रोक्नको लागि पनि सरकारले आफूले अघि सारेको स्मार्ट करेन्सीको माध्यमबाट नेपाललाई शतप्रतिशत क्यासलेस बनाउनुपर्ने साहको अनुसन्धानकेन्द्रित निश्कर्ष रहेको छ । आफूले ठूलो संख्यामा देश तथा विदेशमा रहेका नेपाली रिसर्चर र अर्थशास्त्रीहरुसँग विगत एक वर्षदेखि फिजिविलटी अध्ययन गरेर निकालेको निश्कर्ष भएकोले माथि उल्लेखित समस्याको समाधानको लागि आफूले सार्वजनिक गरेको अवधारणा देश र जनताको लागि नै सञ्जिवनी बुटी सावित हुने दाबी गरे ।

तर, आफूले नेपाल बसाईको क्रममा सरोकारवाला निकायका प्रमुखहरुसँग आफ्नो अवधारणा लागु गराउने विषयमा छलफल गर्दासमेत कसैबाट पनि सकारात्मक जवाफ र प्रतिक्रिया नपाएको साहको गुनासो छ । कतिपय सरकारमा रहेका उपल्लो व्यक्तिबाट समेत आफ्नो समूहका अर्थशास्त्रीहरुमाथि विरोध र धम्कीपनि आउने गरेको उनको दाबी छ ।

साहले नेपाल जलवायु परिवर्तनको कारण नेपाल दक्षिण एशियामा सबैभन्दा जोखिम वहन गर्ने खतरामा रहेको तथ्यांक सुनाए । विश्वका धेरै देशमा अहिले रिसोर्सको कारण गृहयुद्ध भैरहेको उल्लेख गर्दै नेपालले बेलैमा जलवायु परिवर्तन, दाईजो प्रथा र आर्थिक बोझको क्षेत्रमा बेलैमा काम गर्न नसकिए नेपालले पनि गृहयुद्ध व्यहोर्नुपर्ने खतरा औंल्याए ।

उनले भने,‘हाम्रो देशको लागि क्यासलेस सबभन्दा आवश्यक छ । चाहे ग्लोबल वार्मिङबाट बचाउन होस, चाहे त्यो आर्थिक समस्या छ, प्रत्येक वर्ष आर्थिक समस्याको कारण ६ हजार जनाको आत्महत्या भैरहेको छ, त्यो रोक्नको लागि पनि क्यासलेस बनाउनुपर्छ । यो बनाईयो भने सरकारसँग पैसाको कमी हुँदैन् । दाईजोको कारणपनि हत्या भैरहको छ, यो पनि रोक्न सकिन्छ ।’

उनले अघि सारेको स्मार्ट करेन्सीमा पैसामा बार–कोड लगाउने हो । उनले भने,‘यसरी स्मार्ट करेन्सीमा बार कोड लगाएपछि एउटा परिवारको लागि छाएिको पैसा अर्को परिवारले चलाउन मिल्दैन् । सबै परिवारको लागि फरक फरक बारकोड बनाउनुपर्छ ।’ एक वर्षको दौरान आफूले चारदेखि पाँच सय प्रोफेसरहरु राखेर फिजिविलटी अध्ययनको लागि १० वटा सेमिनार गरिसकेको पनि साहले सुनाए ।

साहले ५० भन्दा बढि अन्तरक्रिया त आफूले स्नातक र स्नातकोत्तरका विद्यार्थीहरुमाँझ गरेको सुनाए । साहले नेपाललाई शतप्रतिशत भ्रष्टाचारमुक्त बनाउनको लागि अमेरिकाजस्तो राष्ट्रपतीय शासन प्रणाली लागु हुनुपर्नेमा जोड दिए । उनले भने,‘नेपाललाई समृद्ध बनाउने हो र भ्रष्टाचारमुक्त बनाउने हो भने राष्ट्रपतीय शासन प्रणाली लागु गर्नुपर्छ । राष्ट्रपति सेरोमोनियल भएर बस्नुहुँदैन् । पूरै पावर राष्ट्रपतिमा आउनुपर्यो । प्रधानमन्त्री हुनुभएन । दुई दलमात्र हुनुपर्छ । ती दुई दलमा पनि अर्थशास्त्री, एमबिए र ईन्जिनियर तीन विद्याका प्रखर व्यक्तित्लाई मात्रै दलमा छिर्न दिनुपर्छ । अरुलाई पार्टीमा छिर्न दिनुहुँदैन् ।’ साहले ०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट काठमाडौं महानगरमा बालेन शाह र धरान उपमहानगरमा हर्क साम्पाङले जितेको उल्लेख गर्दै भने,‘पढेलेखेको युवालाई मात्रै पार्टीमा प्रवेश दिईनुपर्छ । म तपाईंहरुलाई एउटा उदाहरण दिन्छु है–स्वतन्त्रबाट बालेनले पनि जित्नुभयो, अनि हर्क साम्पाङले पनि जित्नुभयो । दुई जनामा कत्तिको फरक छ ? बालेन एउटा ईन्जिनियर हो । उहाँसँग महानगरपालिकालाई कसरी बनाउने भन्ने भिजन छ । हर्कजीलाई मेरो सम्मान नै छ । तर, उहाँ इन्जिनियर होईन ।’

साहले गृहमन्त्री रवि लामिछानेसँग पनि देश बनाउने भिजन नभएको टिप्पणी गरे । उनले भने,‘रवि लामिछानेलाई देशको माया गर्नुहुन्छ, उहाँले देशलाई यो गर्छु र त्यो गर्छु भन्नुहुन्छ, तर उहाँले केही गर्न सक्नुहुन्न । एउटा रिक्सा चलाउने मान्छेलाई हस्पिटलको डाईरेक्टर बनाईदियो भने चलाउन सक्छ त ? रविजी राज गर्न सिपालु हुनुहुन्छ, तर नीतिको एन पनि आउँदैन् । नीति बनाउनु भनेको इकोनोमिक पोलिसी बनाउनु हो । तर, उहाँलाई यसको ए, बि, सि, डि पनि आउँदैन् । देश त इकोनोमिक पोलिसीबाट चल्ने हो ।’ साहले नेपाल असफल हुनुको कारण आठ कक्षा पास, १० कक्षा पास र १२ कक्षा पास गरेकाहरुले देश चलाउनु भएको दाबी गरे । उनले भने,‘देश चलाउनको लागि अर्थशास्त्रीको टिम नै छैन् । त्यसैले देशमा राष्ट्रपतीय शासन नै चाहिन्छ ।’

आफूहरुको योजना, नीति तथा कार्यक्रमलाई लागु हुन नदिनको लागि सरकारले नै भूमिका खेलेको भन्दै साहले भविष्यमा आफूहरुको सरकार निर्माण भए संविधान संशोधन गरेर अहिले गलत गर्ने नेताहरुको लागि क्यापिटल पनिसमेन्टको व्यवस्था गर्ने महत्वकांक्षी योजना पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्